वैदेशिक रोजगार र बेसहारा बनेका बालबालिका

प्रकाशित मिति : भदौ ३० शनिवार,२०७५

सरिता राजभण्डारी
मनोपरामर्शकर्ता खोटाङ

 

,“ला, यो दुध खा, तेरी आमा पोईलो गईहाली भनेर माथिल्लो घरको छिमेकीले माया गरेझैँ गरेर दुध दिदाँ खानै मन लागेन खोटाङका १० बर्षिय विवस (नाम परिवर्तन) भुजेललाई ।” त्यस दिनदेखि उनलाई काहि जान हिड्न मन नै लाग्दैन । त्यतिमात्रै कहाँ हो र स्कूलमा सबै साथीहरुले यसको त आमा पोईल गएको हो नि, बुवा विदेशमा हुँदा अर्कै केटासँग भन्दै खिल्ली उडाउँदै हास्थे । त्यसपछि आमाको बारेमा यस्तो कुरा सुनेपछि स्कूल नै जान मन लाग्दैन भनि सुनाउँछन् विवस । उनका बुवा फेरी बिदेश नै फर्किए । बुढेसकालको हजुरबा र हजुरआमा साहारा भएका छन् विवस भुजेलको । यो त एउटा उदाहरण मात्र हो ।

 

हाम्रो सामाजमा यस्ता धेरै बालकालिकाहरु छन् जो आमाबुवाको साथ बिना बाँचीरहेका छन् ।विवसलाई आमा पोइल गएको भनेर गरिने व्यवहार मन पर्दैन । हुन त विवस १० बर्षका मात्रै भए । तर उनको बाल मानसिकतामा आमाले छोडेर गएको र त्यही विषयमा छिमेकी र साथीहरुले गर्ने कुरा नराम्ररी गाडिएको छ ।

“हाम्रो पढ्ने र बस्नेको तँ टुङ्गै छैन । कहिले सदरमुकाममा कहिले आफन्तकोमा कहिले कहाँ यसरी नै हाम्रो दिनहरु बितिरहेको बताउँछन् खोटाङकै मुकेश (नाम परिवर्तन) र उनको भाईबहिनीको । जब हाम्रो बुवा बिदेशबाट घर फर्किन दुई महिना बाँकी हुँदा आमाले अर्कैसँग बिहे गर्नुभयो । बुवा आउनु भयो तर बुवाले पनि विदेशबाट आएको तीन महिनापछि कान्छी आमा ल्याउनु भयो । कान्छी आमा ल्याउनु भएपछि बुवाले हामीलाई (म, मेरो भाई (९ बर्ष) र बहिनी (७ बर्ष) पनि सदरमुकाम उहाँहरुसँगै लानुभयो । सदरमुकाममा ज्यामी काम गरेर छाक टार्नु हुन्थ्यो । बुवा र कान्छी आमा रक्सी खाएर सधै झगडा गरिरहने भएकोले सदरमुकाममा पनि राम्ररी पढ्न सकिएन । बुवाले फेरी हामीलाई गाउँमा नै फर्काई दिनुभयो । फेरी स्कूल परिवर्तन गर्नु प¥यो । भाईलाई कान्छी फूपुले लिएर गयो, साहुले घरजग्गा पनि लगि सक्यो, म र बहिनी ७२ र ६५ बर्षिय हजुरबा र हजुरआमासगँ बसेका छौ । यसरी पढाई र बासाईको टुङ्गो नहुने बालबालिका धेरै रहेको छ ।

 

त्यसै गरि कक्षा ३ मा पढ्दै गरेकी ९ बर्षिय सम्झना वि.क. (नाम परिवर्तन) भन्नु हुन्छ “म कक्षा २ मा पढ्दै गर्दा बुवा बिदेश जानुभयो । बुवा बिदेश गएको ५ महिनापछि बहिनी जन्मिइन् । अर्को बहिनी थपिएकोमा खुशी हुनुपर्नेमा बुबाले किन मन दुखाए त्यो कुरा मलाई थाहा छैन । बुुवाले फोन गर्न पनि छाड्नु भयो । पैसा त कहिल्यै पठाउनु भएन । आमाले अरुको मोबाईलबाट फोन गर्दा पनि, तँ अझै मरेकी छैनस् भनि आमालाई बुवाले कराउनु हुँदो रहेछ । आमाले रुदै सुनाउनु हुन्छ । आमाले मावली र खेताला पात गरेर हामीलाई पढाउन, लाउन र खान पु¥याउदै हुनुहुन्छ । गाउँलेले भने अनुसार बुवा बिदेशबाट फर्किएर बिराटनगरमा घडेरी किन्नु भएको छ अरे तर हामीलाई सम्पर्क गर्नु भएको छैन ।

 

विवस, मुकेश, अनि उनका भाईबहिनी र सम्झना त उदाहरण मात्रै हुन् । वास्तवमा खोटाङमा वैदेशिक रोजगारीका कारण प्रभावित हुने बालबालिका कति छन् भन्ने तथ्याङ्क त कसैसँग छैन । कुनै निकायले राखेको पनि छैन । पारिवारिक बिखण्डनले उनीहरुको मानसिकतामा पर्ने असरको त झन् लेखाजोखा नै छैन । यसरी प्रभावित हुनेहरुको सङ्ख्या कम छैन । विदेशबाट पैसा आएको मात्रै देख्ने समाज र रेमिट्यान्सले आर्थिक विकासमा सहयोग पुगेको छ भन्ने सरकार र अरु कसैले पनि वैदेशिक रोजगारीका कारण बालबालिकालाई परिरहेको मनोसामाजिक समस्याको ख्याल गरेको पाईदैन ।

 

वैदेशिक रोजगारका कारण परिवारमा भएको समस्याहरुलाई न्युनिकरण गर्ने उद्देश्यले नवकिरण सेवा समाज नेपाल अन्तर्गत सञ्चालित सामी परियोजनाको व्यक्तिगत र सामुहिक मनोसामाजिक परामर्शका सहभागीका कुराले नै त्यो पुष्टि हुन्छ कि वैदेशिक रोजगारका कारण हुने पारिवारिक बिखण्डनले बाल मानसिकतामा कति नराम्रो असर पारेको छ । यस्ता खालका समस्याहरुलाई कम गर्न हामी सबै सरोकारवाला निकायहरुको आवश्यकता पर्छ जस्तो लाग्छ ।