निर्मला परिवारलाई न्याय दिलाउन नसकेको भन्दै सरकार विरुद्ध महिला संघ खोटाङको विरोध प्रदर्शन

प्रकाशित मिति : असोज १ सोमवार, २०७५

कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घट्नाको जताततै विरोध भइरहेको छ । कञ्चनपुरबाट सुरु भएको बिरोधका स्वर क्रमशः गाउँ–गाउँसम्म सुनिन थालेका छन् । यसैक्रममा बालिका पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्नका लागि नेपाल महिला संघ खोटाङले ठाउँ–ठाउँमा कोणसभासहितको विरोध प्रदर्शन गरेको छ ।

बालिका पन्तको हत्या भएको ५४ दिन वित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै महिला संघले दवाव स्वरुप दिक्तेलमा विभिन्न नारासहितको बिरोध प्रदर्शन गरेको हो । दिक्तेलको रत्नपार्कबाट सोमबार दिउँसो सुरु भएको विरोध जुलुस तीन स्थानमा विरोध सभा गर्दै हाटडाँडामा पुगेर टुंगिएको छ ।

विरोध जुलुसकाक्रममा रत्नपार्कमा कांग्रेस जिल्ला सदस्य सुमनबाबु आचार्य र महिला संघकी उपाध्यक्ष डिल्लीकुमारी आचार्यले, त्रिवेणीचोकमा महासमिति सदस्य रविप्रकाश राई र हाटडाँडामा पूर्वसभापति एबं महासमिति सदस्य बिष्णुकुमार राईले निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको कडा शव्दमा आलोचना गरे ।

 

निर्मलाको हत्यामा संलग्न दोषी पत्ता लगाउनुको सट्टा प्रहरीले उल्टै प्रमाण नष्ट गरेर पीडितलाई झनै पीडित बनाउने काम गरिएकाले विरोध प्रदर्शन गरिएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताईन् । दोषी पत्ता लगाएर कानूनी कठघरामा उभ्याउन र पीडित परिवारलाई न्याय दिलाउनका लागि दवाव स्वरुप बिरोध प्रदर्शन गरिएको महिला संघले जनाएको छ ।