बलात्कारी काकाले पैसा दिएर अर्कैसँग विवाह गराई दिएपछि…….

पुस ९ बुधवार, २०७६
खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिमा १५ वर्षीया बालिका बलात्कार गरि गर्भवती बनाउने विरुद्ध मुद्धा दर्ता भएको छ । साईनोमा काका पर्नेले बलात्कार गरि गर्भवती बनाएपछि बुधबार जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले मुद्धा दर्ता गराएका छन् ।

बालिका बलात्कार गरि गर्भवती बनाएपछि आफु जोगिन पीडकले स्थानीय एक बिधुर (विवाह गरेको श्रीमति साथमा नभएको) सँग विवाह गराईएको खुलासा भएको छ । बालिका विवाह गर्ने बिधुर विरुद्ध पनि पीडित पक्षले मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

बालिका बलात्कार गरि गर्भवती बनाएपछि घटना सामसुम पार्न पीडक, स्थानीयवासी र वडा सदस्य समेतको संलग्नतामा स्थानीय एक बिधुरसँग विवाह गराएको एक स्रोतले जानकारी दिएको छ । समाजले नै अपराधिलाई उन्मूक्ति दिन बालिकालाई जवरजस्ती बिधुरसँग विवाह गराएको र बिधुरलाई वालिका जिम्मा लिएवापत १ लाख ३० हजार नगदसमेत दिएको स्रोतले जानकारी दिएको छ ।

बालिका गर्भवती रहेको कुरा पौष २ गते सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएलगत्तै घटनाका विषय कसैले सार्वजनिक गरे वा प्रहरीलाई खवर गरे ज्यान लिने धम्की पीडकले स्थानीयवासीलाई दिएपछि घटना सामसुम पारिएको स्रोतको दावि छ ।

बालिकाको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परिक्षण गरिएको र उनको पेटमा ३२ हप्ताभन्दा माथीको बच्चा रहेको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए । वालिका बलात्कार गर्ने काका भने फरार रहेको र खोजी कार्य भईरहेको उनको भनाई छ । बालिकालाई विवाह गर्ने बिधुरलाई भने पक्राउ गरि वहुबिबाह र वालबिबाह दुवैमा मुद्धा दर्ता भएको प्रनाउ गौतमले जानकारी दिए ।

बालिकालाई हदैसम्मको दवावमा राखेर अन्याय गरेको थाहा पाएपछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको उनको भनाई छ । ‘बालिका बलात्कार गर्नेको खोजी भईरहेको छ । वालबिबाह गराउनमा संलग्नलाई पनि अनुसन्धान गरि पक्राउ गरिनेछ ।’ गौतमले भने ।

आफु पीडित हुँदा हुँदै पनि समाजले शिर निहुराउन लगाएको भन्दै घर छोडेर हिडेका बालिकाका बाबु भने हालसम्म सम्पर्क विहीन रहेको बताईएको छ ।