प्रदेश न. १ मा नेपाल भ्रमण बर्षको खोटाङबाट शुभारम्भ, एक लाख बढी पर्यटक भित्र्याउने लक्ष्य

पुस १० बिहीवार, २०७६
खोटाङ । प्रदेश नम्बर १ मा खोटाङबाट नेपाल भ्रमण बर्षको शुभारम्भ खोटाङबाट भएको छ । जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ ले खोटाङको दिक्तेलबाट नेपाल भ्रमण वर्षको शुभारम्भ गरेको हो । सरकारले घोषणा गरेको नेपाल भ्रमण सन् २०२० लाई प्रचार–प्रसार एबं प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार दिक्तेलबाट औपचारिक रुपमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरिएको जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ का अध्यक्ष ववि चाम्लिङले जानकारी दिए ।

प्रदेश नम्वर १ का १४ जिल्ला तथा स्याङजा, भक्तपुर, दोलखाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरुको उपस्थितिमा जिल्ला समन्वय समिति दिक्तेलको सभाहलमा महासंघका केन्द्रीय अध्यक्ष सिता सुन्दासले दिप प्रज्ज्वलन गरी भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् ।


शुभारम्भ कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष सुन्दास, उपाध्यक्ष सन्तमान तामाङ, प्रवक्ता नवराज गेलाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्याय, नेकपा खोटाङका सचिव रामप्रसाद दंगाल, नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशी, समाजवादी पाटीका प्रदेश सचिव सूर्यबहादुर राईलगायतले नेपाल भ्रमण बर्षको बारेमा आ”आफ्नो धारणा राखेका थिए ।

भ्रमण वर्षको शुभारम्भपछि अतिथिहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड पुगेका थिए । त्यहाँ पुगेका अतिथिहरुलाई नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राईले खादा ओढाई स्वागत गरेका थिए ।


भुलभुले दुधकुण्ड पुगेका अतिथिहरुले भुलभुले, रुवालुङ झरना, झाक्रीवास गुफाको अवलोकन/भ्रमण गरेका छन् । शुभारम्भ कार्यक्रमपछि भुलभुले पुगेका पाहुनाहरुले आफूले सक्दो प्रचारप्रसार र प्रवद्र्धन गर्नमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

दुई दिनका लागि आयोजना गरिएको शुभारम्भ कार्यक्रम अन्तरगत शुक्रबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामै पर्ने ऐतिहासिक मझुवागढी कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफाको अवलोकन भ्रमण गरिने जनाइएको छ । दिउँसो भने, हलेसी तुवाचुङ नगरपालिकामा पर्ने मानव सभ्यताको उद्गमस्थल किराँतीहरुको आदिम भूमि तुवाचुङ जायाजुम, हलेसी महादेवस्थान, मारतीका गुम्बा, बसाहा थान भ्रमण गरिने जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ का संयोजक ववि चाम्लिङको भनाइछ ।

हलेसीमा भ्रमण सकेर दिउँसो पाहुनाहरुलाई विदाई गरिने संयोजक चाम्लिङले बताए । सन् २०२० भित्र जिल्लामा १ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य रहेको संयोजक चाम्लिङले बताए ।

पाहुनाहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको चार/चार तथा अन्य आठ गाउँपालिकाको एक/एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु समेटिएको फोटो मायाको चिनो स्वरुप प्रदान आयोजकको भनाइछ ।