तामाङ भाषा, धर्म, संस्कार र संस्कृति सम्वन्धी प्रशिक्षण सुरु

पुस १८ शुक्रवार, २०७६
खोटाङ । तामाङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि खोटाङको दिक्तेलमा चार दिने सचेतनामूलक अभिमुखीकरण तालिम सुरु गरिएको छ । बुढापाकाको अन्त्यसँगै लोपोन्मुख अवस्थामा पुगेका तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिका बारेमा युवा पुस्तालाई जानकारी दिएर संरक्षणका लागि शुक्रबार सचेतनामुलक अभिमुखीकरण तालिम सुरु गरिएको हो ।

तामाङ समुदायका युवा पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिका बारेमा जागरुक बनाउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा सचेतनामुलक अभिमुखीकरण तालिम आयोजना गरिएको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष जसबहादुर तामाङले बताए ।

चार दिनको अवधिमा तामाङ समुदायका सहभागीलाई भाषा, धर्म, संस्कार र संस्कृतिको बारेमा मौखिक तथा श्रव्यदृश्य सामग्रीका माध्यमबाट सचेतनामुलक जानकारी दिइने जनाइएको छ । तालिममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाबाट आएका ५० जनाको सहभागीता रहेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिले जनाएको छ ।

सहभागीलाई घेदुङका शिक्षा तथा संस्कृति बिभाग प्रमुख काजीमान थिङ, बुद्धछिरी लामा, खोजराज गोले र रामकुमार तामाङले तामाङ भाषा, संस्कार र संस्कृतिका बारेमा जानकारी दिइरहेका छन् ।

जिल्लामा तामाङ समुदायको जनसंख्या १२ हजारभन्दा बढि रहेको अनुमान गरिएको छ । अभिमुखीकरण तालिम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख बिणादेबी राई, घेदुङका प्रदेश कमिटि अध्यक्ष रेखबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।