खोटाङमा छ महिनामा एक सय २२ प्रतिवादी पक्राउ

पुस २६ शनिवार, २०७६
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष विभिन्न अपराधिक क्रियाकलापमा संलग्न १४४ जना प्रतिवादीमध्ये १३२ जनालाई पक्राउ गरेको जनाएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को तेश्रो त्रैमासिक सार्वजनिक सुनुवाई गर्दै प्रहरीले गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घट्नामा संलग्न १२ जना प्रतिवादी फरार रहेको, एक जनालाई वाल सुधार गृहमा पठाइएको, ३९ जनालाई कारागार चलान गरिएको, ७८ जना धरौटीमा छुटेको र १४ जना विरुद्ध म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षभित्र १३० वटा मुद्धा दर्ता भएकामा ७५ वटा मुद्धा फस्र्यौट गरेको जनाएको छ । दर्ता भएकामध्ये ५० वटा मुद्धा फस्र्यौट गर्न बाँकी रहेको प्रनाउ गौतमले बताए ।

चालु अवस्थामा ५ वटा मुद्धामा अनुसन्धान भइरहेको, प्रतिवादी नभएको काम बाँकी मुद्धा ४४ वटा र प्रतिवादी फरार भएका मुद्धा ४ वटा रहेको जानकारी दिइएको छ ।

चालु आर्थिक वर्ष अदालतबाट फैसला भइसकेका तर फरार रहेका तीन अभियुक्त पक्राउ पर्दा एक सय जरिवाना र २० वर्ष ४ महिना कैंद भुक्तान भएको प्रनाउ गौतमले बताए । यस अवधिमा १८६ वटा ठाडो निवेदन परेकामा १६४ निवेदनको काम सम्पन्न गरिएको र २२ वटा मुद्धाको काम बाँकी रहेको जानकारी दिइएको छ ।

३१ जना वेपत्ता

यस अवधिमा खोटाङमा हराएका ३१ जना अझै फेला परेका छैनन् । ४२ जना महिला, ८ जना पुरुष, १२ बालिका र ३ बालक गरी ६५ जना हराएकोमा ३४ जना मात्र फेला परेको प्रहरीले जनाएको छ ।

हराएकामध्ये २१ महिला, ३ पुरुष, ८ बालिका र २ बालक फेला परेको प्रहरीले जनाएको छ । वेपत्ता भएका भनिएकामध्ये अधिकांश दोश्रो विवाह गरेर जाने महिला रहेको प्रनाउ बामदेव गौतमले बताए ।

‘सम्पर्क विहिन भएपछि हरायो भनेर प्रहरीलाई खबर गर्छन्, तर भेटियो भनेर जानकारी दिँदैनन्,’ प्रनाउ गौतमले भने, ‘अंशमा दावी नगरोस् भनेर दोश्रो विवाह गर्ने महिला विरुद्ध बढि यस्ता वेपत्ताको उजुरी परेको पाइएको छ ।’

प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, दलका नेता, जनप्रतिनिधि, अधिकारकर्मी लगायतको उपस्थिति थियो ।