सशस्त्र द्वन्द्वकाक्रममा हत्या गरिएका नेताको सम्झना

पुस २७ आइतवार, २०७६
खोटाङ । खोटाङमा सशस्त्र द्वन्द्वकाक्रममा हत्या गरिएका माओबादी नेताको स्मरण गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट २०५५ साल पुस २७ गते हत्या गरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका सहिद ठूलकुमार श्रेष्ठको सम्झना गरिएको हो ।

तत्कालीन नेकपा माओवादीका जिल्ला सदस्य रहेका ठूलकुमारलाई पार्टीको कामको सिलसिलामा हिँडिरहेको समयमा उदयपुरको तावाश्रीमा गोली हानी हत्या गरिएको थियो । आइतवार पुष्पलाल स्मृति भवनमा आयोजित ठूलकुमार श्रेष्ठको २२ औं स्मृति सभामा सहभागी नेकपाका नेताहरुले राजतन्त्रको हन्त्य गर्दै गणतन्त्र ल्याउनमा उनले पु¥याएको योगदानको चर्चा गरेका छन् ।

प्रमुख अतिथिका रुपमा नेकपा खोटाङका जिल्ला सचिव रामप्रसाद दंगालले सहिदले देखाएको बाटोमा हिँड्न सके र सहिदको सपना पुरा गर्न सकेमात्र ठूलकुमारप्रति सच्चा सम्मान हुने बताए । कार्यक्रममा नेकपाका सल्लाहकार जयप्रसाद आचार्यले पनि ठूलकुमारको बलिदानी संघर्षको चर्चा गरेका छन् ।

सशस्त्र द्वन्द्वको समयमा खोटाङमा भूमिगत भएर अन्य युवालाई पनि जनयद्धमा सामेल गराएको श्रेय ठूलकुमार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका दिलकाजी कार्कीलाई जाने दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेश राईले बताए । शिक्षण पेशा छाडेर जनयुद्धमा होमिएका श्रेष्ठका श्रीमती र तीन छोरी छन् ।