खोटाङका स्थानीय तहमा करोडौं वेरुजु

पुस २८ सोमवार, २०७६
खोटाङ । पारदर्शीता कायम गर्ने भन्दै मिठा–मिठा भाषण भए/गरे पनि खोटाङको स्थानीय तहमा करोडौं वेरुजुका खात देखिएको छ । महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन अनुशार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौं बेरुजुको खात देखिएको हो ।

आर्थिक वर्ष २०७५/०७६ भित्र स्थानीय तहमा भएका आर्थिक गतिविधिको विषयमा महालेखा परिक्षकको कार्यालयले डेढ महिना लगाएर लेखा परीक्षण गरेको थियो । पेश्की वेरुजु, नियमित गर्ने बेरुजु, फस्र्यौट गर्ने बेरुजु र असुल गर्नुपर्ने बेरुजु रकमको आधारमा महालेखाले स्थानीय तहको बेरुजुको मात्रा औंल्याएको जनाइएको छ । महालेखा परीक्षकका अनुशार ऐसेलुखर्क गाउँपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा १४ लाख ६१ हजार ७७७ रुपैयाँ वेरुजु देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सो गाउँपालिकामा ४० लाख ३४ हजार ५६६ रुपैयाँ वेरुजु देखिएको थियो ।

यस्तै, अघिल्लो आर्थिक वर्ष ३ करोड ३६ लाख ७१ हजार ८०६ रुपैयाँ वेरुजु पाइएको केपीलासगढी गाउँपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ६२ लाख २८ हजार २८७ रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ७४ लाख ४६ हजार ४९९ रुपैयाँ बेरुजु रहेको खोटेहाङ गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड १८ लाख १९ हजार ३५४ रुपैयाँ बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा ४ करोड ४४ लाख ९८ हजार ९८९ रुपैयाँ बेरुजु पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ३१ लाख २९ हजार ७०१ रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ मा ४ करोड ५० लाख १३ हजार ६१९ रुपैयाँ बेरुजु देखिएको हलेसी तुवाचुङ नगरपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा १० करोड २५ लाख २ हजार ८९९ रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा देखिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा १ करोड १६ लाख ९५ हजार १९५ रुपैयाँ बेरुजु कायम देखिएको रावाबेँसी गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ९५ लाख ९५ हजार ९०९ रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ करोड ४० लाख ६ हजार १६२ रुपैयाँ बेरुजु पाइएको बराहपोखरी गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ११ लाख ८१ हजार ४७८ रुपैयाँ बेरुजु रहेको देखाइएको छ ।

यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा २ करोड ८७ लाख ५२ हजार ५०१ रुपैयाँ बेरुजु भेटिएको साकेला गाउँपालिकामा आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड २० लाख ७८ हजार ३०१ रुपैयाँ बेरुजु पाइएको महालेखाले जनाएको छ ।

दिप्रुङको लेखा परीक्षण भएन

खोटाङका दश स्थानीय तहमध्ये दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परिक्षण छुटेको छ । नौ स्थानीय तहको लेखा परीक्षण गरेको महालेखा परीक्षकको टोली र दिप्रुङ चुईचुम्मा गाउँपालिकासँगको ‘इगो’का कारण लेखा परीक्षण हुन नसकेको हो ।

लेखा परीक्षण गर्न महालेखा परीक्षकको टोलीले बोलाएको ठाउँमा दिप्रुङ चुईचुम्मा गाउँपालिका नगएको तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले केन्द्रमै बोलाउँदा महालेखा परीक्षकको टोली नगएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण हुन नसकेको हो । ४६ दिनसम्म बसेर लेखा परीक्षण गरेको महालेखा परीक्षकको कार्यालयका निर्देशक घनश्याम अधिकारी नेतृत्वको टोली पुस ७ गते काठ्माण्डौं फर्किएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्था तथा समितिको लेखा परीक्षणका लागि जिल्लामा छुट्टा–छुट्टै तीन टोली आएको थियो । कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङका प्रमुख ध्रुव कार्कीका अनुशार खोटाङबजारबाट खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाको लेखा परीक्षण गरिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकालाई खोटाङबजारमै कागजात ल्याउन भनिएको थियो । दिक्तेलस्थित कोलेनिकाको कार्यालयबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकाले सार्वजनिक लेखा परीक्षण गराएका छन् । सडकको सहज पहुँचका कारण हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयमै गएर लेखा परीक्षण गरिएको जनाइएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले भने सम्वन्धित स्थानीय सरकारको कार्यालयमै पुगेर लेखा परिक्षण गर्नु महालेखा परीक्षकको दायित्व भएको बताए । ‘अडिट भनेको कागजको श्रेष्ता मिलाउने मात्र होईन । कामको मूल्यांकन पनि हो । कागजमा उल्लेख भए अनुशार काम नभएको छैन भने साईडमा गएर निरीक्षण पनि गर्नुपर्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘कागजको झोलीतुम्बी बोकेर हिँड्ने हाम्रो काम होईन । स्थानीय सरकारलाई अण्डरस्टीमेट गर्ने खालको पक्षमा हामी छैनौं । सम्वन्धित केन्द्रमा आएर मलेप नगर्ने हो भने काठ्माण्डौंमै लगेर गराए भै गो नी ।’

लेखा परीक्षण गर्न अन्यत्र बोलाइदा संघीयताको मर्मत विपरितको काम भएको र स्थानीय सरकारलाई नमानेको देखिएको अध्यक्ष राईले बताए ।