जनताको प्रश्न, जनप्रतिनिधिको उत्तर

पुस २९ मंगलवार, २०७६
खोटाङ । ‘वैदेसिक रोजगार शीर्षकको पैसा क–कसलाई वितरण गरियो ? कृषि र पशु विकास अन्तरगतको बजेट कसरी वितरण भयो ? बजार अनुगमन किन प्रभावकारी हुन सकेन ?,’ यो प्रश्न खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका लोकराज ढकालको हो । खोटेहाङ गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को प्रथम अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा ढकालले यी प्रश्न तेस्र्याएका हुन् । गाउँपालिका अध्यक्ष प्रदीप राईले गाउँपालिकाको अर्धवार्षिक प्रगति र खर्चको प्रगति विवरण प्रस्तुत गरेपछि सहभागी स्थानीय सर्वसाधारणले अस्पष्ट विषयवस्तुका बारेमा जिज्ञासा र प्रश्न राखेका थिए ।


मञ्चमा जवाफदेहीपक्ष भएर बसिरहेका गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत हरि भट्टराई, गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुयाँल, ९ वडाका वडाध्यक्ष, विषयगत शाखाका प्रमुख लगायतले आ–आफूसँग सम्वन्धित प्रश्नको जवाफ दिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेपछि सवाल–जवाफको श्रृंखला सुरु भएको थियो । अधिकांश स्थानीय तह सार्वजनिक सुनुवाईबाट पन्छिइरहेका बेला खोटेहाङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाई गरेको हो ।

गुनासो पोख्नकै लागि घण्टौं हिँडेर आएका गाउँपालिकाबासीले सडक, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, पर्यटन, सूचना/सञ्चार, सिँचाई, युवा तथा खेलकुद, वन तथा वातावरण, न्याय सेवा, सुशासन लगायतका विषयमाथि केन्द्रित रहेर प्रश्न गरे, गुनासो राखे र कतिपयले सुझाव पनि दिएका छन् । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीका अगुवा किसान इन्द्र नारथुंगेले विद्यालयमा शिक्षकको दरबन्दी मिलान नगरिनुको कारण बारे प्रश्न सोधेका थिए ।

 

यस्तै, शिक्षक देवचन्द्र ढकालले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका बारेमा जिज्ञासा राखे । सहभागीका भीडबाट उभिएर अर्का सहभागी विनोद विश्वकर्माले खेल क्षेत्रको विकासमा गाउँपालिकाको ध्यान पुग्न नसकेको भन्दै गाउँपालिका अध्यक्ष राईको ध्यानाकर्षण गराए । खोटाङबजारमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सेवा प्रदायक पक्ष र सेवाग्राहीबीचमा करिब ५ घण्टा दोहोरो सम्वाद भएको थियो ।

गाउँपालिकाबाट सम्पादित कामको बारेमा नागरिकलाई सुसूचित गराउँदै मूल्यांकन गर्न, गाउँपालिकामा सञ्चालित विकास कार्यक्रम, उपलव्ध सेवा, वस्तु र सुविधा वारे सार्वजनिक गर्दै त्यस विषयमा उठेका प्रश्नमा स्पष्टता ल्याएर र रचनात्मक सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले चालु आर्थिक वर्षको कुल बजेट ३६ करोड ५५ लाख ४९ हजार ३५० मध्ये हालसम्म २४.३ प्रतिशत खर्च भएको जानकारी दिएका छन् । ८ करोड ८८ लाख २१ हजार ४१८ रुपैयाँ (२४.३ प्रतिशत) खर्च हुँदा २७ करोड ६७ लाख २७ हजार ९३१ मौज्दात रहेको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाईमा सामाजिक विकास, पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, वातावरण तथा विपद व्यवस्थापन, प्रधानमन्त्री रोजगार कार्यक्रम, संस्थागत विकास, सेवा प्रवाह, सुशासन, न्यायिक कार्य सम्पादन लगायतका बारेमा भइरहेका प्रगतीका विषयमा सर्वसाधारणलाई जानकारी दिइएको छ ।

गाउँपालिका अध्यक्ष राईले हालसम्म गाउँपालिकाको पिचुलीटार, सावाकटहरे, इन्द्रेणीपोखरी लगायतका ११ वटा खेल मैदान निर्माण सम्पन्न भएको, लिकुवापोखरी–वाप्लुखा, सावा–बड्का–खोटाङबजार सडक, इन्द्रेणीपोखरी–चिप्रिङ लगायतका ४३ वटा सडक मर्मत तथा स्तरोन्नती गरिएको, रोक्सिङभञ्ज्याङ–भिरखर्क–वाप्लुखा सडक, बड्का–सावा–वाप्लुखा–लिकुवा सडक, खोटाङ–मेर्ला सडक, रामबोले–बुधेधारा सडक, चैनपुर–कालापानी खोटाङबजार लगायतका ४६ वडा सडक ट्र्याक खोलिएको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तै, गाउँपालिकाका ९ वटा वडामध्ये ६ वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको, खोटेहाङ गाउँपालिका–२ र ९ बाहेकका वडामा स्थास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण गरिएको, गाउँपालिकाका अधिकांश वडामा विद्युत विस्तारको काम भएको जानकारी दिइएको छ । हालसम्म २४ वटा ऐन, कार्यविधि र निर्देशिका बनाइएको, लेखा शाखामा सुत्र कार्यान्वयन गरिएको, स्वास्थ्य संस्थाको रिपोर्टिङका लागि डिएचएमआइएस–टुको प्रयोग गरिएको, टोल फ्रि नम्बर सञ्चालनमा ल्याइएको लगायतका प्रगती भएको विवरणमा उल्लेख छ ।

अझै पनि आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने परिपाटी’

कार्यक्रममा खोटेहाङ गाउँपालिकाको कानून तथा ऐन हतारमा बनाइएकाले आगामी दिनमा विचार गरेर बनाउनुपर्ने, आर्थिक वर्षको अन्त्यामा हतार–हतार खर्च गर्ने परिपार्टीलाई निरुत्साहित गर्नुपर्ने, उपभोक्ता समितिले सञ्चालन गरेका योजनाबाट अपेक्षित नतिजा प्राप्त हुन नसकेको, योजना छनौटलाई वैज्ञानिक र वस्तुगत बनाउनु पर्ने, संघ र प्रदेशबीचमा प्रभावकारी सञ्चार र समन्वय स्थापित हुनुपर्ने लगायतका विषयमा चर्चा भएको छ ।

कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, नेकपा गाउँपालिका अध्यक्ष राजन ढकाल, कांग्रेस गाउँपालिका सभापति प्रेमकुमार थापा, ईलाका प्रशासन कार्यालयका प्रमुख मनस राई, नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष तथा दिनानाथ क्याम्पसका प्रमुख कुमार पराजुली, नेपाल शिक्षक महासंघ गाउँपालिका अध्यक्ष सन्तोष ढकाल, महिला मञ्चकी सचिव भीमा ढकाल लगायतले बोलेका थिए ।