वडालाई निःशुल्क जग्गा प्रदान

माघ ५ आइतवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका पाँचजना स्थानीयले वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । वडा कार्यालय भवन निर्माणका लागि पाँच रोपनी १० आना जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

साविकको गाविस कार्यालयबाट कामकाज गरिरहेको वडा कार्यालयलाई साविक नुनथला–५ का महेन्द्रवहादुर राईले १ रोपनी १ आना ३ पैसा, डम्बरवहादुर राईले १ रोपनी १ आना २ पैसा, मोतिचन्द्र राईले १ रोपनी २ आना ३ दाम, धर्मश्वर राईले १३ आना २ पैसा ३ दाम र भक्तकुमार राईले १४ आना जग्गा निःशुल्क प्रदान गरेको वडाध्यक्ष भीम राईले जानकारी दिए ।

उनीहरुले बजार मूल्य अनुसार ५५ लाख बढिको जग्गा आइतबार जिल्ला मालपोत कार्यालय दिक्तेल पुगेर वडाको नाममा पास गरिदिएका हुन् । पास गरेको जग्गाको लालपुर्जा जग्गादाताहरुले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका छन् । जग्गादातालाई धन्यवाद दिंदै वडाध्यक्ष राईले वडा कार्यालयको आफ्नै भवन बनाउनमा लागि पर्ने बताए ।