प्रजातान्त्रिक योद्धा राईको शालिक निर्माण गरिने

माघ ६ सोमवार, २०७६
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका प्रजातान्त्रिक योद्धा पृथीवहादुर राईको शालिक निर्माण गरिने भएको छ । विक्रम सम्बत १९८४ साल कात्तिक १३ गते जन्म भई २०७१ माघ ५ गते मृत्यु भएका प्रजातान्त्रिक योद्धा राईको सम्मानमा नेपाली कांग्रेस क्षेत्रीय समितिले शालिक बनाउने निर्णय गरेको हो । प्रजातन्त्र स्थापनाका लागि लडेका योद्धाको सम्झना र सम्मानमा चालु आर्थिक वर्षभित्रै शालिक बनाउने निर्णय गरिएको नेपाली कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

आईतबार चिसापानीमा बसेको बैठकले खोटाङबजारमा निर्माणाधिन अवस्थामा अधुरो रहेको कृष्णप्रसाद भट्टराईको शालिकलाई पनि पूर्णता दिने निर्णय गरेको छ । बैठकले प्रजातान्त्रिक योद्धा राईको शालिक निर्माणका लागि उनकै छोरा तथा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सभापति दिलीप राई र भट्टराईको शालिक निर्माणको बाँकी काम पुरा गर्नका लागि गणेश थापालाई जिम्मेवारी दिइएको कांग्रेस क्षेत्रीय सभापति तीर्थराज भट्टराईले बताए ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ पञ्चमीबजारमा निर्माण गरिएको कौशलराज रेग्मी–जयबहादुर राई स्मति पुस्तकालयको भवन बनिसकेकाले बाँकी काम पुरा गरेर उद्घाटन गर्ने निर्णय गरिएको छ । जसका लागि कांग्रेस क्षेत्रीय उपसभापति सभापति चण्डीराज राईलाई जिम्मेवारी दिइएको छ ।

बैठकले कांग्रेसको नयाँ संरचना अनुरुप रिक्त रहेको उपसभापति पदमा केशवकुमार खत्री, सह–सचिवमा समराज राई, आमन्त्रित सदस्यमा धनबहादुर प्रधान, सिताराम बिष्ट, रामबहादुर रोइला, रामकुमार राया र बृर्षबहादुर नेपालीलाई मनोनित गरेको क्षेत्रीय सभापति भट्टराईले बताए । कांग्रेस क्षेत्रीय समितिले आगामी दिनमा भ्रष्टाचार विरुद्धका अभियानलाई सशक्त बनाउने जनाएको छ ।