हलेसीको गुरुयोजना पारित, दुई सयमिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने

माघ १३ सोमवार, २०७६
खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसी गुरुयोजनाको प्रस्तावित प्रतिबेदनलाई संशोधन सहित पारित गरिएको छ । हलेसी गुरुयोजना निर्माण सम्वन्धी शनिबार र आईतबार काठ्माण्डौंमा आयोजित दुई दिवशिय बृहत अन्तरक्रिया कार्यक्रमले हाल तयार पारिएको गुरुयोजनाको प्रस्तावित प्रतिबेदनलाई परामर्शका आधारमा आवश्यक संशोधन गर्दै पारित गरेको हो ।

 

हलेसी तथा हलेसी आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि निर्माण गरिएको गुरुयोजनालाई लामो समयपछि अन्तिम रुप दिइएको प्रतिनिधि सभा सदस्य एबं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक विशाल भट्टराईले बताए । हलेसी र हलेसी आसपासमा भएका प्राकृतिकस्थलमा आकर्षक संरचना निर्माण गरेर पर्यटकलाई केही दिनसम्म रम्ने÷रमाउने वातावरण सिर्जना गर्नेगरी गुरुयोजनालाई अन्तिम रुप दिइएको हो ।

किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको पहलमा २०७५ साल जेठदेखि गुरुयोजना सम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । दैनिक पर्यटक/दर्शनार्थीको भीड लाग्ने हलेसीको व्यवस्थापन गर्न सके हलेसीलाई आर्थिक केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ ।

दुई सयमिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने

बृहत अन्तरक्रिया कार्यक्रमले हलेसी मन्दिर (गुफा)लाई केन्द्र मानेर दुई सयमिटर वृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको छ ।

यस्तै, गुरुयोजनाको प्राथमिकतामा महादेव गुफा, तुवाचुङ जायजुम, होलेसुङ, ककनी र मञ्जुश्रीगुफालाई राखिएको प्रतिनिधिसभा सदस्य एबं हलेसी गुरुयोजना निर्माण समितिका संयोजक भट्टराईले बताए ।

ककनीडाँडालाई रक गार्डेनकारुपमा विकास गरिने छ । यस बाहेक हलेसी आसपासका अन्य गुप्तेश्वर गुफा, सत्तेश्वर गुफा, भुम्जुडाँडा, खाम्तेलगढी, सल्लेपोखरी, महादेवबेँशी, जयराम, जोर्तीघाट लगायतका स्थानलाई पनि हलेसी गुरुयोजनमा समावेश गरिएको छ । हलेसी मन्दिरलाई केन्द्र मानेर दुई सयमिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्नेक्रममा जग्गाधनी तथा सरोकारवाला पक्षसँग छलफल गरेर उचित क्षतीपूर्तिको विषय टुंग्याइने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

नगरप्रमुख राईका अनुसार अधिग्रहणमा पर्ने घरको लागत स्टीमेट मूल्यांकन, सरकारी तथा निजी जमिनको वर्गाीकरण लगायतका काम पनि सम्पन्न भइसकेको छ ।

यस्तै, छलफलमा मारातिका छोलिङ गुम्बा, गणेश मन्दिर, हलेसी मन्दिरआसपासका निजी घर तथा हलेसीको प्राकृतिक गुफालाई अशर पु¥याउने रुखको उचित व्यवस्थापन गर्ने निर्णय भएको छ । यसका लागि हिन्दु, बौद्ध र किरात धर्मावलम्बी लगायत सरोकारवाला पक्षसँग छलफल गरेर निष्कर्षमा पुग्ने जनाइएको छ । मध्यपहाडी लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल हलेसीको व्यवस्थित र दिगो बिकास गर्दै पर्यटन प्रवद्र्धनका लागि बृहत्तर गुरुयोजनाको काम अघि बढाइएको थियो ।

गुरुयोजनालाई अन्तिम रुप दिनका लागि हलेसी तुवाचुङ नगरपालिकाको पहलमा २०७५ साल माघ ४ गते प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो ।

प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, प्रदेशसभा सदस्य राजन राई, रामकुमार राई, उषाकला राई, पुर्व राज्यमन्त्री शिव बस्नेत, सर्वधन राई, पूर्वसांसद टंक राई, विदुर पौडेल, संविधानसभा सदस्य सरस्वती वजिमय, पिके राई, दुर्गाजयन्ती राई, समिता कार्की, हरि रोका, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख विमला राई, हलेसीका वडाध्यक्ष लगायत सदस्य रहेको समितिले गत असार ५ गतेभित्रमै गुरुयोजना तयार पारिसक्ने ‘सेड्युल’ बनाएको थियो ।

यसअघि हलेसी महादेवस्थान विकास समितिले पनि हलेसीको पर्यटन बृहत्तर गुरुयोजना निर्माणका लागि पहल गरेको थियो । पुर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीको २०४३ सालमै गुरुयोजना बनेको भनिए पनि हालसम्म फेला पर्न सकेको छैन ।

उसबेला गुरुयोजनाका लागि हलेसी मन्दिर आसपासका स्थानीयलाई मुआव्जा दिइएको भएपनि जग्गा अतिक्रमण यथावत छ । पूरानो गुरुयोजना फेला नपरेको र कार्यान्वयनमा पनि नआएको बेला नगरपालिकाले गुरुयोजनाको अवधारणा अघि सारेको जनाएको छ ।