लिम्चिङबुङ महिला मञ्चलाई निशुल्क जग्गा

माघ १४ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ३ बाम्राङका स्थानीयले स्थानीय लिम्चिङबुङ महिला मञ्च नेपाललाई निशुल्क जग्गा दिएका छन् । लिम्चिङबुङ महिला मञ्चको भवन बनाउनका लागि स्थानीय दलशेर राई र चामकुमारी राईले २ लाख मूल्य बराबरको ११ आना जग्गा निशुल्क दिएका हुन् ।

जग्गादाताले शुक्रवार जिल्ला मालपोतको कार्यालयबाट महिला मञ्चको नाममा पास गरि दिएको मञ्चकी अध्यक्ष दुवासरी राईले बताइन् ।
स्थानीयबाट चुप्ला भन्ने ठाउँमा जग्गा निशुल्क प्राप्त भएसँगै भवन निर्माणका लागि पहल गर्ने महिला मञ्चले जनाएको छ । जग्गादाताले जग्गा पास गरे लगत्तै मञ्चकी अध्यक्ष दुवासरी र सचिव कमला राईलाई लालपूर्जा हस्तान्तरण गरेका छन् ।