खोटेहाङ गाउँपालिकाको कार्यालय आफ्नै भवनमा सञ्चालन

माघ १६ बिहीवार, २०७६
खोटाङ । खोटेहाङ गाउँपालिकाको कार्यालय आफ्नै भवनमा सञ्चालन भएको छ । गाउँपालिकाको ९२ लाख लगानीमा निर्माण उपभोक्ता समितिद्धारा निर्माण गरिएको सुविधा सम्पन्न कार्यालय भवन बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । आरसिसि ढलान गरिएको आठ कोठे दुई तले कार्यालय भवनको कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले औपचारिक रिवन काटेर उद्घाटन गरेका हुन् ।

डिजिटल सूचना बोर्ड समेत जडान गरिएको नवनिर्मित भवनमा गाउँपालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत छुट्टाछुट्टै शाखा स्थापना गरिएको छ । भवनसंगै पाँच वटा शौचालय र सेवाग्राहीका लागि प्रतिक्षालय समेत निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

नौँ वटा वडा रहेको खोटेहाङ गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन समेत निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदिप राईले बताए । ‘गाउँपालिकाले भौतिक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएको’, उनले भने, ‘यसै वर्ष्भित्र बाँकी तीन वटा वडामा पनि कार्यालय भवन निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।’

ब्रिटिस गोर्खा वेलफियर (जिडब्लुएस) ले उपलब्ध गराएको कार्यालय भवनमा सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय आफ्नै सुविधा सम्पन्न कार्यालय भवनमा सञ्चालन भएपछि दैनिक कामकाजमा समेत सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताऐ । ‘आफ्नो भवन अभावमा गोर्खा वेलफियरले उपलब्ध गराएको भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा दैनिक कार्यसम्पादनमा समस्या थियो’, उनले भने, ‘अहिले गाउँपालिकाको लगानीमा आफ्नै नयाँ कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याएपछि सहज भएको छ ।’

कार्यालय भवन उद्घाटन कार्यक्रमका वक्ताहरुले गाउँपालिकाले निर्माण गरेको नयाँ कार्यालय भवन थोरै रकममा गुणस्तरीय र बहुउपयोगी बनाएको बताएका छन् । कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जिल्ला सचिवालय सदस्य राजन बञ्जरा, खोटेहाङ गाउँपालिका पार्टी अध्यक्ष राजन ढकाल, नेपाली काँग्रेसका खोटेहाङ गाउँपालिका प्रेम थापा, वडा नम्बर–७ का वडाध्यक्ष शिवप्रसाद फुयाँल, भगवती क्याम्पसका क्याम्पस प्रमुख कुमार पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दश स्थानीय तह रहेको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका आफ्नै कार्यालय भवनमा सञ्चालन हुने चौथो स्थानीय तह हो । यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् ।

जिल्लाको एक नगरपालिका र छ वटा गाउँपालिका अझै भाडाकै घरमा सञ्चालन भइरहेको छ । नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपप्रमुख कविता राई, वरिष्ठ सँगीतकार महेश खड्का, वडाध्यक्षहरु, कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।