एसईईको लागि नमुना परीक्षा लिदै पञ्च मावि

माघ २५ शनिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित पञ्च मावि दिक्तेलले कक्षा १० का विद्यार्थीहरुका लागि नमुना परीक्षा लिएको छ । विद्यालयले सिकाइ उपलव्धि बृद्धि गराउन र एसईईमा हुने कठिनाईको समाधान गर्ने उद्देश्यले एसईई परीक्षाको नमुना परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले जानकारी दिए ।

 

परीक्षालाई मर्यादित ढंगबाट सञ्चालन गर्नका लागि काठमाण्डौमा प्रश्नपत्र बनाएर ल्याएका हौ, प्रअ ढकाल भने–एसईईको जसरी सञ्चालन गरिन्छ त्यसरी नै केन्द्राध्यक्ष तथा निरीक्षक खटाएर परीक्षा लिएका हौै । अझै एसईईको परीक्षा आउन एक महिना बढि भएकाले यस परीक्षाले विद्यार्थीलाई म कति लेख्न सक्ने रहेछु भन्ने मापन गर्छ त्यसका लागि पनि नमुना परीक्षा लिएको प्रअ ढकालको भनाइछ ।

परीक्षा समितिका संयोजक लक्ष्मीप्रसाद खनालका अनुसार एसईईको परीक्षा गराउँदा जुन मापदण्ड अपनाइन्छ त्यसरी विद्यार्थीको सिम्वोल नम्बरका आधारमा परीक्षा गराइरहेका छौ तर उत्तरपुस्तिका जाँच भने विज्ञ झिकाएर कोडिङमार्फत परिक्षण गराई नतिजा प्रकाशन गरिनेछ । विद्यालयका ५७ जना विद्यार्थीले एसईईको नमुना परीक्षा दिइरहेको केन्द्रध्यक्ष दिपक दाहालले वताए ।

शैक्षिकसत्र २०६९/०७० यता जिल्लामै सन्तोषजनक नजिता देखाइरहेको छ । कुनै वर्ष एसएलसी (एसईई) मा सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट माविका रुपमा दर्ज हुँदै आएको विद्यालयले कुनै वर्ष जिल्लामै उत्कृष्ट अंक ल्याएर एसएलसी (एसईई) उत्तिर्ण गर्ने छात्र÷छात्रा जन्माउँदै आएको छ । शैक्षिकसत्र २०७१/०७२ को एसएलसीमा ८५ प्रतिशत परीक्षार्थी उत्तिर्ण गराएर खोटाङमै उत्कृष्ट विद्यालय बनेको पञ्च माविले एसईईमा उत्कृष्ट नतिजा ल्याएको आधारमा गत वर्ष पनि १ नम्बर प्रदेशबाट जिल्लाकै उत्कृष्ट विद्यालयको पुरस्कार थापेको हो । प्रदेशका १४ जिल्लाका एक–एक विद्यालयमध्ये आफ्नो विद्यालय पुरस्कृत हुँदा उत्साह मिलेको प्रअ ढकालले वताए ।

राष्ट्रिय शैक्षिक गुणस्तर मापन केन्द्रको सूचक पूरा गरेका आधारमा उत्कृष्ट ठहरिएका माविलाई सामाजिक विकास मन्त्रालय तथा क्षेत्रीय शिक्षा कार्यालय धनकुटाले २९ औं शिक्षा दिवसको अवशरमा भदौ २३ गते ५ लाख अनुदान प्रदान गरेको थियो भने यस वर्ष सामाजिक विकास मन्त्रालयले ३० औं शिक्षा दिवसको अवशरमा भदौ २३ गते २ लाख अनुदान प्रदान गरेको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि असार १८ गते नगर दिवशका अवशरमा ५० हजार राशीको उत्कृष्ट प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।

शैक्षिकसत्र २०६९/०७० मा पञ्च माविका छात्र वोलराज आचार्य र शैक्षिकसत्र २०७१/०७२ मा विनोद आचार्य जिल्लामै सबैभन्दा बढि अंक ल्याएर एसएलसी उत्तिर्ण गर्ने छात्र बने भने शैक्षिकसत्र २०७२/०७३ मा सविता राउतले ‘ए’ प्लस, शैक्षिकसत्र २०७३/०७४ मा सचिन पोखरेलले ‘ए’ ग्रेड र शैक्षिकसत्र २०७४/०७५ मा विवश ढकाल र रियन आचार्यले ए’ ग्रेड ल्याएर एसईई उत्तिर्ण गरेको विद्यालयले जनाएको छ ।

२०२४ सालमा स्थापना भएको विद्यालयको सन्तोषजनक नतिजाको कारण शिक्षणप्रति शिक्षकको सकरात्मक मेहनत र अभिभावकको चासोको परिणाम ठान्छन् प्रअ ढकाल । ‘अहिले विद्यालयलाई मिलिरहेको सफलता हाम्रो टिमवर्कको परिणाम हो,’ प्रअ ढकालले भने, ‘के शिक्षक, के अभिभावक, के विद्यार्थी हामी विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा मरिमेटेर लागेका छौँ ।

सफलताको एउटा कारण यही हो ।’ विद्यालयमा शिक्षकको नियमितता, विद्यालयको शैक्षिक वातावरण, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्रीको निर्माण एबं प्रयोग, विद्यालयप्रति अभिभावकको चासो, सिकाईप्रति विद्यार्थीको क्रियासिलता, विद्यार्थीको विगत र वर्तमानको सिकाई उपलव्धि मापन गर्ने ‘पोर्टफुल्ली’ लगायतका आधारमा विद्यालयले फरक नजिता ल्याउन सफल भएको हो ।

चाहना राखेर मात्र उत्कृष्ट नजिता हात पार्न सकिन्न । त्यसका लागि आवश्यक शैक्षिक क्रियाकलापको आवश्यता पर्दछ । शिक्षकमा भएको दायित्ववोध र ईच्छाशक्तिका कारण विद्यालयको शैक्षिक गुणस्तरमा अपेक्षाकृत सफलता प्राप्त भएको प्रअ ढकालले बताए । प्रायजसो उत्कृष्ट नजिता ल्याउन थालेपछि पञ्च माविमा विद्यार्थीको आकर्षण पनि वर्षेनी बढ्दो छ । हाल पञ्च माविमा ४०० विद्यार्थी अध्ययनरत छन् ।