नवउदारवादसँग लड्न नसक्ने पनि कम्यूनिष्ट हुन्छ ? : आहुती

माघ २६ आइतवार, २०७६
खोटाङ । कम्यूनिष्ट नेता विश्वभक्त दुलाल आहुतीले नवउदारवादसँग लड्न नसक्ने कम्यूनिष्ट सच्चा कम्यूनिष्ट हुन नसक्ने बताएका छन् । खोटाङको दिक्तेलमा शनिबार आयोजित ‘नेपालमा कम्यूनिष्ट आन्दोलनको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा आहुतीले नेपाली कम्यूनिष्ट आन्दोलनले सही मार्ग समात्न नसकेको बताए । ‘नवउदारवाद अर्थतन्त्र मौलाउँदो छ । त्यही नवउदारवादलाई कम्यूनिष्टले पनि प्रवद्र्धन गरिरहेको छ,’ वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालका संयोजक रहेका आहुतीले प्रश्न गरे, ‘साम्राज्यवादीसँग नलड्ने पनि कहीँ कम्यूनिष्ट हुन्छ ? संमृद्धि भन्ने नारा झुटको खेती हो । नवउदारवादबाट कहिल्यै समाजवादमा पुग्न सकिन्न ।’

आहुतीले नेपालका कम्यूनिष्ट आन्दोलनको रणनीति परिवर्तनको खाँचो औल्याए । चरित्रको हिसावले नेपालका कम्यूनिष्ट सही अर्थमा कम्यूनिष्ट नभएको आहुतीको भनाई थियो । ‘धेरै विषयमा नेपाली कम्यूनिष्ट आन्दोलन अस्पष्ट छ । केका लागि लड्ने भन्ने विषय भन्न सक्नु पर्छ,’ उनले भने, ‘राजाको समयमा राजासँग लड्छौँ भन्दा सुहाउँथ्यो । सामान्तीसँग लड्यौं भन्दा सुहाउँथ्यो । अवको आन्दोलन के का लागि हो भन्ने प्रष्ट छैन ।’ उनले अहिलेका नेपाली कम्यूनिष्ट दलाल पुँजीवाद विरुद्ध लड्न नसकेको आरोप लगाए ।

अर्का वक्ता एबं पूर्वसांसद टंक राईले नेपाली कम्यूनिष्टको साम्यवादी दिशामा जाने धरातल कमजोर बनेको बताए । उनले सिद्धान्तमा भन्दा पनि स्वार्थलाई केन्द्रमा राखेर शक्ति आर्जनका लागि कम्यूनिष्ट मिलेको उल्लेख गरे । ‘हामी आदर्श भएर प्रस्तुत हुन सकेनौँ । बाहिर एउटा भित्र अर्कै चरित्र भएको पाखण्डी बन्यौँ,’ राईले भने, ‘आगामी दिनमा भावी पुस्ताले लिने विचारले कम्यूनिष्ट आन्दोलनको भविष्य निर्धारण गर्ने देखिन्छ ।’

वैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपाल १ नम्बर प्रदेश कमिटिले आयोजना गरेको अन्तरक्रीयामा नेकपाका जिल्ला नेताको समेत उपस्थिति रहेको थियो ।