पत्रकारलाई लाखौं जरिवाना भर्ने कानून मान्य नहुने

माघ २६ आइतवार, २०७६
खोटाङ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई लाखौं जरिवाना भर्ने कानून मान्य नहुने वताएका छन् । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले शनिबार दिक्तेलमा आयोजना गरेको ‘नागरिकको नजरमा मिडिया र पत्रकार आचार संहिता’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले मासिक १८ हजार तलव नपाउँदा आत्महत्या गर्नुपर्ने देशका पत्रकारलाई समाचार लेखेकै आधारमा लाखौं रुपैयाँ दण्ड जरिवाना जायज नभएको बताएका हुन् ।

‘पत्रकारले कमजोरी गरे कारबाही गर्नुपर्छ तर तलव नपाउँदा पत्रकार मरिरहेको अवस्थामा उसैलाई लाखौं दण्ड जायज हो ?,’ कार्यबाहक अध्यक्ष श्रेष्ठले भने, ‘कानून सर्वस्वीकार्य हुनु पर्छ । सफा मनले कानून ल्याइए एक रुपैयाँ जरिवाना पनि मान्य हुन्छ ।’ श्रेष्ठले पत्रकारले अरुमाथि औंला ठड्याउने तर असनको साँढेजस्तो हुँदा पत्रकारिता वदनामित भएको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले समाचार लेख्ने पत्रकारलाई ज्यानमारा सरहको सजाय मान्य नहुने वताए । प्रेस सम्वन्धी कानून दण्डै दण्डबाट ठीक लगाउन सकिन्छ भन्ने मनोविज्ञानबाट आएको महासचिव विष्टले बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले ‘वायसनेस’ले पत्रकारिताको वेट घटाइरहेको बताएका छन् । एकथरी पत्रकारले एउटा पार्टी पक्षको प्रचारात्मक समाचारलाई प्राथमिकता दिने र विपक्षी पार्टीको खेदो खन्ने प्रवृत्तिले पत्रकारिताको गरिमा घटाइरहेको वताएका हुन् ।

नेकपाका नेता एवम् पूर्वसांसद टंक राईले पत्रकारिता अझैपनि विश्वसनीय बन्न नसकेको बताए । ‘पत्रकारले नेगेटिभ समाचारमा मात्र जोड दिइरहेका छन् । पोजिटिभ विषयलाई पनि प्रमोसन गर्नु पर्छ,’ पूर्वसांसद राईले भने, ‘मिडिया संयमित र सुसँस्कृत हुन सकिरहेको छैन । राष्ट्रपतिलाई पनि तिमी भन्नु उपयुक्त होईन ।’

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले एकथरी पत्रकारले सही लेख्ने गरे पनि अर्काथरी पत्रकारले गलत मनसायले समाचार लेख्ने गरेको गुनासो गरे ।

यस्तै, नेपाली कांग्रेसकी नेतृ डिल्लीकुमारी आचार्यले पत्रकार दलको कार्यकर्ताकै शैलीमा देखिनु दुःखद भएको बताईन् । समाजवादी पार्टीका अध्यक्ष टंक थापाले सत्तापक्षले पत्रकारितालाई आफु अनूकुल बनाउन खोज्दा गहन पत्रकारिताको अभाव खड्किएको बताए । राष्ट्रिय युवा संघका सह–संयोजक शरद राईले पत्रकारितामा राजनीति घुसेपछि पत्रकारिताको ‘वेट’ घटेको औंल्याए ।

। नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दमन राईको सभापतित्वमा भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, पूर्वसांसद टंक राई,नेकपा खोटाङका अध्यक्ष देवान किराती, नेपाली कांग्रेस खोटाङकी जिल्ला सदस्य डिल्लीकुमारी आचार्य,समाजवादी पार्टीका अध्यक्ष टंक थापा, सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राई, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेकोे महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दमन राईको सभापतित्वमा भएको कार्यक्रममा जनप्रतिनिधि,जिल्लास्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थिति रहेकोे महासंघले जनाएको छ ।