अख्तियारले कसैलाई पाखा कसैलाई काखा ग¥यो : तरुण दल

माघ २६ आइतवार, २०७६
खोटाङ । नेपाल तरुण दल खोटाङले ललिता निवासको जग्गा प्रकरणमा प्रतिपक्षलाई फसाउने र आफ्नालाई बचाउने खेल भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै मुद्धामा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै निर्णय सच्याउन माग गरेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति एबं संसदीय दलका उपनेता विजय गच्छेदारमाथि प्रतिशोध साँध्ने र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र नेकपाका नेता विष्णु पौडेललाई उन्मुक्ति दिने निर्णय गरेर कानुनी राज्यको धज्जी उँडाएको तरुण दलका अध्यक्ष भिषण राईले बताए ।

कानुनले सबैलाई समान दृष्टिले हेर्छ भन्ने मान्यता विपरित चोरले ‘मैले चोरेको सामान फिर्ता गर्छु मलाई कारबाही नहोस्’ भन्ने पौडेललाई मुद्धा दायर नहुनु लज्जाको विषय बनेको तरुण दलले जनाएको छ । ‘भ्रष्टाचारीलाई जोगाउने हाम्रो ध्येय होईन,’ तरुण दलको ज्ञापनपत्रमा भनिएको छ, ‘तर, एउटै अपराधका कसैलाई मुद्धा र कसैलाई सफाई गर्ने बदनियतपूर्ण निर्णय सच्चियोस् ।’