दिक्तेल क्याम्पसमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी यूनियनबीच समायोजन

माघ २७ सोमवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसस्थित तत्कालीन समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी यूनियनबीच समायोजन गरिएको छ । मातृ पार्टीबीचमा एकता भएको केही समयपछि दुई विद्यार्थी संगठनको क्याम्पस इकाई कमिटिबीचको समायोजना टुंग्याइएको हो ।

समायोजन पछि बनेको समाजवादी विद्यार्थी यूनियन क्याम्पस कमिटिका अध्यक्षमा कृष्ण गिरी, उपाध्यक्षमा साकिला भुजेल, सचिवमा सविना श्रेष्ठ, सहसचिवमा निरज राई र कोषाध्यक्षमा देबिना राई चयन भएका छन् ।

समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मणी राईको प्रमुख आतिथ्यता, समाजवादी विद्यार्थी यूनियनका केन्द्रिय सदस्य रबिन खम्बू, अञ्जिल किराती, जिल्ला अध्यक्ष रोसन राई लगायतको उपस्थितिमा समायोजन टुंग्याइएको हो ।

स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनलाई लक्ष्यीत गर्दै आईतबार समायोजन टुंग्याइएको समाजवादी विद्यार्थी यूनियनले जनाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीबाट हुनुपर्ने समाजवादी विद्यार्थी यूनियनको माग छ ।