‘यत्रतत्र मानव अधिकार हनन्’

माघ २८ मंगलवार, २०७६
खोटाङ । ‘घर–घरमा मानव अधिकार हनन् छ । समाज–समाजमा अधिकार हनन् भइरहेको छ । मानव अधिकार हनन् कहाँ छैन ? यत्रतत्र छ ।’ यो भनाई खोटाङका पूर्वप्राचार्य पवन थापाको हो । राष्ट्रिय मानव अधिकार आयोगले सोमबार दिक्तेलमा आयोजना गरेको ‘खोटाङ जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रममा थापाले ज्येष्ठ नागरिकले यातायातमा ५० प्रतिशत छुट नपाएको, सरकारी कार्यालय ज्येष्ठ नागरिकमैत्री नभएको, विद्यालयको संरचना वालमैत्री र अपांगमैत्री नहुँदा मानव अधिकार हनन् भएको वताए ।

‘अस्पताल जाऔं, बैंकमा जाऔं, बृद्ध–बृद्धा थरथर काम्दै लाईनमा उभिइरहेको देखिन्छ । छुट्टै काउन्टर बनाउँदा सहज हुन्थ्यो,’ थापाले भने, ‘एक्सरे गर्न जाँदा तीन महिनापछि बोलाईन्छ, तीन महिना वित्दा उसको मृत्यु नै भइसकेको हुन्छ ।’

यस्तै, नेतृ एबं अधिकारकर्मी डिल्लीकुमारी आचार्यले मानव अधिकार उल्लंघनका घट्नामा राजनितीकरण हुँदा अधिकारकर्मी नै विभाजित हुने स्थितिले वास्तविक पीडितले न्याय पाउन समस्या हुने गरेको औंल्याईन् । युवा खेलाडी सञ्जयकुमार राईले सकेसम्म कतिपय घट्ना गाउँमै सामसुम पर्ने गरिएको, प्रहरीसम्म पुग्दा एक पक्ष दोषीलाई बचाउन र अर्को पक्ष दोषीलाई कारबाही गराउनमा मरिहत्ते गर्ने गरेको देखिएको बताए ।

‘सकेसम्म पिडितलाई गाउँभन्दा बाहिर जानै दिईन्न । गइहाले पनि बाटैबाट फर्काउने प्रयास गरिन्छ,’ राईले भने, ‘त्यसपछि एक दल दोषीलाई बचाउनमा लाग्छ, अर्को दल दोषीलाई कारबाही गर्नैपर्छ भन्न थालेपछि प्रहरी र प्रशासनले स्वतन्त्रपूर्वक काम गर्न पाउँदैन । जसले पीडितलाई नै मारमा पार्छ ।’

नागरिक समाजका हरि राजभण्डारीले पनि मानव अधिकारको अवस्था फितलो रहेको टिप्पणी गरे । यस्तै, अधिवक्ता चन्द्रबहादुर खड्काले मानव अधिकारको कोणबाट हेर्दा कहीँपनि मानव अधिकार कायम नदेखिएको बताए । ‘सरकारबाटै तोकिएको औषधि भनेको बेला पाइन्न । स्वच्छ खानेपानीको व्यवस्था छैन,’ खड्काले भने, ‘संविधानले दिए अनुसारको अधिकार नागरिकले उपयोग गर्न पाइरहेको अवस्था छैन ।’ यस्तै, शिक्षिका सविता ढकालले एकल महिला सामाजिक र आर्थिक हिसावले समाजबाटै प्रताडित भइरहेको बताईन् ।

 

अपांगका प्रतिनिधि उमेशचन्द्र आचार्यले जिल्लाका अपांगको लगत संकलन नहुँदा अपांग सम्वन्धी योजना सञ्चालन गर्न कठिन भइरहेको उल्लेख गरे । आदिवासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राईले आइएलओ १६९ अनुसार आदिवासी जनजातीले अधिकार उपयोग गर्न नपाएको वताए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेवी खत्री, सहायक प्रमुख जिल्ला अधिकारी श्याम राई, प्रहरी नायव उपरिक्षक बामदेव गौतम लगायतले बोलेका थिए ।

जिल्लामा मानव अधिकारको अवस्थाको विषयमा जानकारी लिएर सोही अनुशार योजना बनाउनका लागि राष्ट्रिय मानव अधिकार आयोगले दिक्तेलमा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टिकाराम पोखरेलले मानव अधिकारको रक्षा गर्नु सवैको दायित्व भएको औंल्याएका छन् ।