सिकाई आदान प्रदान गर्न शैक्षिक भ्रमण

फागुन १ बिहीवार, २०७६
खोटाङ । शैक्षिक सिकाई आदान–प्रदानका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका विद्यालयले नमूना विद्यालयका रुपमा पहिचान बनाएका विद्यालयको शैक्षिक भ्रमण गरेका छन् ।

 

शैक्षिक सिकाईलाई उपलव्धिमूलक बनाउने उपायको खोजीमा वडा शिक्षा समिति लफ्याङको आयोजनामा लफ्याङका पाँच विद्यालय र खाल्लेका दुई विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक लगायतले बुटवलको कालिका माविको अध्ययन भ्रमण गरेका हुन् ।

नमूना विद्यालयका रुपमा स्थापित कालिका माविले अपनाइरहेको शैक्षिक क्रियाकलापका बारेमा जानकारी लिएर फर्किएर आफ्नो विद्यालयमा कार्यान्वयन गर्नका लागि शैक्षिक भ्रमणको आयोजना गरिएको हो । खस्कँदो शैक्षिक स्तरलाई सुधार गर्दै आफ्नो विद्यालयलाई ‘नमूना’ विद्यालयका रुपमा स्थापित गर्ने विधिको सिको गर्न शैक्षिक अध्ययन भ्रमणको आयोजना गरिएको श्रीमावि बाँसबोटे लफ्याङका व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए ।

 

कालिका माविको शैक्षिक गतिविधि अवलोकनका लागि माघ २४ गते हिँडेको टोली २८ गते फर्किएको छ । शैक्षिक भ्रमणमा निस्किएको टोलीले माघ २६ गते कालिका माविको अध्ययन, अवलोकनका साथमा सिकाई आदान–प्रदान बारे अन्तरक्रिया गरेको जनाएको छ ।

शैक्षिक भ्रमणमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष एबं वडा शिक्षा समितिका संयोजक निर्मल राई लगायतको २६ जनाको टोली सहभागी थिए ।