खोटाङमा दादुरा–रुबेला विरुद्धको खोप शुरु, १८ हजारभन्दा बढि बालबालिकालाई खोप दिइँदै

फागुन १ बिहीवार, २०७६
खोटाङ । खोटाङका १८ हजारभन्दा बढि बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप दिन सुरु गरिएको छ । ‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले सुरु गरेको राष्ट्रिय खोप अभियान अन्तरगत पहिलो र दोश्रो चरण गरेर जिल्लाका १८ हजार ५२२ जना बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोटाङका १० स्थानीय तहमध्ये पहिलो चरणमा तीन स्थानीय तहका ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई बिहिबारदेखि दादुरा–रुबेला बिरुद्धको खोप दिन सुरु गरिएको छ । खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङको काखमा राखिएकी ४ वर्षीय सविना श्रेष्ठलाई हेल्थ नर्स अधिकृत उर्मिला राईले खोप लगाएर दादुरा–रुबेला विरुद्धको खोप अभियानको उद्घाटन गरिएको छ ।

पहिलो चरणमा जिल्लाको खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका करिब पाँच हजार बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । यी तीन स्थानीय तहमा फागुन ९ गतेसम्म खोप अभियान सञ्चालन गरिने जनाइएको छ ।

बाँकी रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भने आगामी फागुन १५ गतेदेखि २३ गतेसम्म दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

खोप अभियानलाई सफल बनाउनका लागि हरेक स्थानीय तहले खोप समन्वय समिति, सरोकारवाला लगायतसँग अन्तरक्रिया तथा छलफल गरेर पुर्वतयारी गरिरहेको छ । दादुरा–रुबेला बिरुद्धको खोप अभियानमा कुनै पनि बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

खोटाङबजारमा खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईको सभापतित्वमा भएको खोप अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङ, जिल्ला निर्वाचन अधिकारी कोपिला राई, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँल लगायतको उपस्थिति रहेको थियो ।