शुक्रबारदेखि दिक्तेल महोत्सव, तयारी पुरा

फागुन १ बिहीवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलबजारमा सञ्चालन गर्न लागिएको प्रथम दिक्तेल महोत्सवको तयारी पुरा भएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित शुक्रबारदेखि आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आयोजक उद्योग वाणिज्य संघ खोटाङले जनाएको छ ।

बिहिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले महोत्सवको तयारी पूरा भएको जानकारी दिए । महोत्सव १ नम्बर प्रदेशका मुख्यामन्त्री शेरधन राईले शुक्रबार दिउँसो साँढे १ बजे उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको महोत्सवका लागि १२० वटा स्टल निर्माण, वाल उद्यान, रोटे पिङ लगायतका मनोरञ्जनात्मक संरचना निर्माण गरिएको छ । खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा दिक्तेल महोत्सवको आयोजना गरिएको हो ।

 

एउटै थलोमा विभिन्न व्यवसायीबीचको जमघट हुने भएकाले सिक्ने र सिकाउने अवशर प्राप्त हुने र व्यवसायीबीचमा सञ्जाल स्थापना हुने वाणिज्य संघका महासचिव मनोज बजिमयले बताए । ‘महोत्सवको अल्पकालिन र दिर्घकालीन लक्ष्य निर्धारण गरिएको छ,’ महासचिव बजिमयले भने, ‘बजार पहिचान गर्ने, बजार सिर्जना गर्ने र व्यवसायीबीचमा सञ्जाल निर्माण गर्ने हाम्रो मूख्य लक्ष्य हो ।’

 

दश दिने महोत्सवको अवधिमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको बाणिज्य संघले जनाएको छ । करिब एक लाखभन्दा बढि अवलोनकर्ताले जिल्लाको धार्मिक, साँस्कृतिक, रमणीय, प्राकृतिकस्थल, मौलिक संस्कृतिको बारेमा जानकारी पाउने जनाइएको छ ।