बैदेसिक रोजगारमा संलग्न परिवारका महिलालाई वित्तीय साक्षरता कक्षा

फागुन १ बिहीवार, २०७६
खोटाङ । खोटाङका तीन स्थानीय तहमा बैदेसिक रोजगारमा संलग्न परिवारका महिलाका लागि वित्तीय साक्षरता कक्षा सुरु गरिएको छ । बैदेसिक रोजगारीबाट आएको रेमीट्यान्सलाई सुरक्षित तरिकाले बुझ्ने, बचत गर्ने र उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको विकासका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटेहाङ गाउँपालिका र केपीलासगढी गाउँपालिकामा वित्तिय साक्षरता कक्षा सुरु गरिएको हो ।

रेमीट्यान्सको व्यवस्थापन र सदुपयोगका लागि तीन वटै पालिकाको चार–चार टोलमा बैदेसिक रोजगारमा संलग्न परिवारका महिलालाई सहभागी गराएर हप्ताको एक पटक गरी २४ हप्तासम्म वित्तिय साक्षरता कक्षा सञ्चालन गरिने जनाइएको छ ।

नेपाल सरकार र स्वीस सरकार वीचको द्धिपक्षीय सम्झौता अनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाज नेपाल नेर्पाद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले वित्तिय साक्षरता कक्षा सुरु गरेको हो । बैदेसिक रोजगारबाट भित्रिने अधिकांश रेमीट्यान्स घर सम्हालेर बस्ने महिलाको हातमा पर्ने भएकाले उनीहरुका लागि वित्तिय साक्षरता कक्षा सुरु गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।

वित्तिय साक्षरता कक्षा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको चार समुहका ९८ जना, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका चार समुहका १०९ जना र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका चार समुहका ९३ महिला सहभागी छन् । वित्तिय साक्षरता कक्षामा सहभागीलाई बैदेसिक रोजगारीकाक्रममा निम्तिएका समस्याका कारण तनाव र पीडा भुल्न मनोसामाजिक परामर्श समेत प्रदान गर्ने काम भइरहेको छ ।

बिदेशबाट आउने रकमको उचित ठाउँमा प्रयोग हुन नसक्दा त्यसले आर्थिक समस्या क्षणिक समाधान भएपनि अनेकौँ पारिवारिक, सामाजिक, साँस्कृतिक र आर्थिक समस्या निम्त्याएका प्रशस्त उदाहरणहरु छन् । रेमीट्यान्सलाई सदुपयोग नगरेकै कारण बैदेसिक रोजगारीबाट फर्किएको केही समयमै परिवारको आर्थिक स्थिति ‘शुन्य’ झरेको अझैपनि देखिन्छन्, भेटिन्छन् ।

 

अनुत्पादक काममा खर्च हुँदा साथमा भएको जतिसुकै मात्राको पैसा त्यसै खेर जान्छ । यही समस्या हल गर्दै रेमीट्यान्सलाई उपलव्धीमुलक बनाउन प्रोत्साहित गर्न बैदेसिक रोजगारीमा संलग्न स्थानीयलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा चलाइएको सामीका कार्यक्रम संयोजक आचार्यले बताए ।
क्याप्सन ः