सुत्केरी हुँदा ९८ दिनसम्म सट्टा शिक्षक राख्न पाउने व्यवस्था

फागुन १ बिहीवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रसुति सट्टा शिक्षक व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले सुत्केरी भएका शिक्षिका र महिला कर्मचारीले ९८ दिनसम्म सट्टा शिक्षक राख्न पाउने व्यवस्था सहितको कार्यविधि स्वीकृत गरेको हो ।

यसअघि सामुदायिक विद्यालयमा कार्यरत शिक्षिकालाई मात्र ९८ दिनसम्म सट्टा शिक्षक राखेर सुत्केरी विदामा बस्न पाउने कार्यविधि ल्याएको नगरपालिकाले पहिलो संशोधन गरेर विद्यालयमा कार्यरत कार्यालय सहयोगी र वालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताले समेत सुत्केरी भएका बेला सट्टा शिक्षक राख्ने व्यवस्था गरेको हो ।

९८ दिनसम्म सुत्केरी बिदामा बस्दा विद्यालयको पठन–पाठन अवरुद्ध हुने स्थिति आउने भएकाले सट्टा शिक्षक राख्न सकिने व्यवस्था शिक्षा नियमावलीमा समावेश गरिएको नगरपव्रमुख दिपनारायण रिजालले बताए । सुत्केरी विदामा बसेका शिक्षिका र कर्मचारीको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाले विशेष कोषबाट तलव व्यवस्था गरेको जनाएको छ ।

नगरपालिकाले एफएम रेडियो सञ्चालन कार्यविधि २०७६ पनि ल्याएको छ । नगरपालिकाभित्र सय वाट क्षमताको एफएम सञ्चालन र नविकरण गर्ने व्यवस्था सहित एफएम रेडियो सञ्चालन कार्यविधि स्वीकृत गरिएको बिहिबार आयोजित ‘मिट द प्रेस’ कार्यक्रममा नगरप्रमुख रिजालले जानकारी दिए ।

नगरपालिकाले एकैसाथ मेलमिलापकर्ता कार्यविधि, कक्षा ८ को परिक्षा सञ्चालन कार्यविधि, विपद व्यवस्थापन कार्यविधि, मर्मत संभार कोष सञ्चालन कार्यविधि र नगर शिक्षा नियमावली स्वीकृत गरेको जनाएको छ ।

नगर कार्यपालिकाको बैठकलेले नगरपालिकाका १५ वडामध्ये ११ वडाको भवन निर्माण गर्ने, १५ वटा माबिको भवन निर्माण गर्नका लागि बोलपत्रको प्रकृया अघि बढाउने लगायतका निर्णय गरेको ‘मिट द प्रेस’ कार्यक्रममा जानकारी दिइएको छ ।