दश दिने दिक्तेल महोत्सव सुरु

फागुन २ शुक्रवार, २०७६
खोटाङ । खोटाङमा प्रथम दिक्तेल महोत्सव सुरु भएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक संमृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखि १० दिने महोत्सव सुरु गरिएको हो । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सव १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

खोटाङको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको उद्योग बाणिव्य संघका अध्यक्ष उपिनकुमार राईले बताए ।

दिक्तेल महोत्सवमा आधुनिक कृषि औजार, कृषि प्रदर्शनी, चार पांग्रे गाडी, सूचना प्रविधि, वित्तिय संस्था, बेकरी, कपडा, खेलौना, पर्यटन, होटल, हस्तकला, कार्पेटिङ डेकोरेसन लगायतको १ सय २० स्टल राखिएको छ । महोत्सवमा आदिबासी जनजातीको साँस्कृतिक भेषभुषाको बिक्री तथा प्रदर्शनी स्टल समेत राखिएका छन् । व्यपार–व्यवसायका लागि जिल्ला बाहिरका व्यवसायी समेत महोत्सवमा आइपुगेका छन् ।

यसबाहेक वाल उद्यान, रोटेपिङ, रेल, कार लगायतका मनोरञ्जनको साधन सञ्चालनमा ल्याइएको उदोग बाणिज्य संघका महासचिव बजिमयले बताए । दश दिने महोत्सवको अवधिमा करिब एक अर्वको कारोबार हुने प्रक्षेपण गरिएको छ ।