बेहुली अन्माउने बेला विवाह घरमा प्रहरी पुगेपछि विवाह रोकियो

फागुन २ शुक्रवार, २०७६
खोटाङ । दुलहीको नपुग्दै विवाह हुन लागेको सूचनाका आधारमा प्रहरीले विवाह रोकेको छ । उमेर हदका कारण भोजपुरको बाडागाउँकी दुलही दिलकुमारी दुलाल र खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका दुलहा कृष्णप्रसाद फुयाँलको विवाह रोकिएको हो ।

दुलहीको उमेर २० वर्ष नपुग्दै विवाह भइरहेको सूचनाका आधारमा प्रहरीले दुबैपक्षलाई दुलहीको उमेर पुगेपछि घरजम गर्ने शर्तमा सहमत गराएको जनाएको छ ।

माघ २९ गतेका दिन माईतीघरमा कन्यादान, सिन्दुरपोते लगायतका रित पुरा गरेपछि बेहुली अन्माउने बेला विवाह घरमा प्रहरी पुगेको थियो । जनप्रतिनिधि, स्थानीय बुद्धिजीवि लगायतको उपस्थितिमा प्रहरीले दुलहीको उमेर २० वर्ष पुगेपछि मात्र घरजम बसाउने शर्तमा सहमत गराएपछि केटापक्ष दुलही बिनै घर फर्किएको छ ।

दुलही विहिन जन्ती फर्किएपछि बिहिबारको विवाहभोज रोकिएको बेहुलाका काका चक्रप्रसाद फुयाँलले बताए । जन्म चिनामा दुलहीको उमेर २० वर्ष पुग्न ४५ दिन बाँकी देखिएपनि शैक्षिक प्रमाणपत्रमा भने दुलहीको उमेर १७ वर्ष मात्रै पुगेको देखिएको बताइएको छ ।

बेहुली अन्माउने बेलामा प्रहरी आइपुगे, सुरुमा केटीको बा लाई लगेर प्रहरीले केटीको उमेर सोधपुछ गरे, फेरि केटाका बालाई पनि लगेर केटाको उमेर सोधे’ फुयाँलले भने, ‘केटीको उमेर नपुगेको पाइएपछि २० वर्ष नपुगेसम्म माईती घरमै बस्ने र त्यसपछि मात्र दुलहाको घरमा गएर घरजम गर्ने शर्तमा जन्ती फर्काइयो ।’

यसअघि उमेर नपुगेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क मालाका १४ वर्षीय पम्फा भुजेल र भोजपुर अरुण गाउँपालिका–४ का २२ वर्षीय डम्बरहादुर भुजेलबीचमा माघ २१ गते हुन लागेको विवाहलाई पनि प्रहरीले रोकेको थियो ।

दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको विवाह गर्ने उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए । प्रहरीले वाल बिवाह रोकेपछि दुलहा पक्ष दुलही विहिन फर्किएको थियो ।