कम्पोष्ट मल उद्योगको परीक्षण,पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण अर्गानिक नगर बनाइने लक्ष्य

फागुन २ शुक्रवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योगबाट परीक्षण उत्पादन शुरु भएको छ । नगरपालिकालाई अर्गानिक नगर बनाउने उद्देश्यले स्थापना गरिएको उद्योगबाट .शुक्रबार देखि परीक्षण उत्पादन शुरु भएको हो ।

१५ वडा रहेको यस नगरमा नेपाल सरकारको विशेष अनुदान वापतको तीन करोड ३२ लाख लगानीमा कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । ‘आगामी पाँच वर्षभिभत्र नगरक्षेत्रलाई पूर्ण अर्गानिनक बनाउने उद्देश्यका साथ कम्पोष्ट मल तथा बायोग्याँस उद्योग स्थापना गरिएको हो’, भने, ‘दिक्तेलबजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल तथा मानव मलमुत्रलाई प्रयोग गरेर बायोग्याँस समेत उत्पादन गरिनेछ ।’

उद्योगबाट उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रुपमा प्रयोग गर्ने योजनाका साथ उद्योग स्थापना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईँले बताए । ‘उद्योगले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै अर्गानिक नगर बनाउन टेवा पुग्नेछ’ उनले भने, ‘उद्योगबाट उत्पादित मल र ग्याँसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।’

परीक्षण उत्पादन सफल भएको कम्पोष्ट मल तथा बायोग्याँस उद्योग केही दिनपछि औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा लागेको नगरवासी आफ्नै ठाउँमा कम्पोष्ट मल उद्योग सञ्चालन भएपछि हर्षित भएका छन् ।

उद्योगमा स्थानीय चार युवाले पूर्णकालीन रुपमा प्रत्येक्ष तथा २५ जनाले अप्रत्येक्ष रुपमा रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित कम्पोष्ट मल नगरपालिका बाहेक जिल्ला अन्य स्थानीय तहमा समेत विक्री गर्ने लक्ष्य राखिएको जनाइएको छ ।


दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाको थुप्रै वडाहरु यसअघि नै अर्गानिक वडा भइसकेका छन् । नगरपालिकाको वडा नं.–९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथला लगायतका वडाहरु अर्गा्निक बनिसकेकाले अब अन्य वडाहरु समेत पूर्ण रुपमा अर्गानिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।

कम्पोष्ट मलको विकल्प विना पूर्ण रुपमा अर्गा्निक नगर बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ । विशेष प्राथमिकताका साथ अघि सारिएको अर्गा्निक नगर बनाउने अभियान अन्तरगत यसअघि सम्बन्धित सरोकारवाला व्यक्तिहरुसँगको सहभागितामा रासायनिक मल तथा विषादि प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको यस नगरपालिकालाई व्यवस्थित ढंगले अर्गानिक नगर बनाउने अभियान अन्तरगत रासायनिक मलको अनुदानमा रोक लगाउँदै कम्पोष्ट मलको विकल्प सँगसँगै अघि सारिएको जनाइएको छ । नगर कार्यपालिका सदस्य गंगाबहादुर विश्वकर्माले निःशुल्क जग्गा उपलब्ध गराएपछि कम्पोष्ट मल तथा वायोग्याँस उद्योग स्थापना गरिएको हो ।