घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

खोटाङ । आगलागी हुँदा खोटाङमा एक घर नष्ट भएको छ । शुक्रबार लागेको आगलागीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे गोर्लामका नैनबहादुर राईको घर जलेर नष्ट भएको हो । आगलागीमा राईको एउटा गोरु, एउटा सुँगुर, मकैको थाँक्रो, नगद १५ हजार ५ सय, ४० वाटको सोलार लगायतका धनमाल डढेको वडाध्यक्ष लोकेन्द्र राईले बताए ।


राईको घर तथा घरमा भएका घरायसी सामान जल्दा करिब ५ लाखको क्षती भएको छ । आगलागीमा राई परिवारले शरीरमा लगाएको लुगाबाहेकका सामान बाँकी नरहेको वडाध्यक्ष राईले बताए । राईको घर वरपर अन्य घर नभएको र बस्तीभन्दा टाढा रहेकाले आगो नियन्त्रणमा लिन नसकिएको बताइएको छ । सुस्तमनोस्थितिका श्रीमतीले चलाएको आगोका कारण घट्ना भएको स्थानीयको अनुमान छ । आगोमा सबैथोक जलेपछि राई दम्पत्तीको बिचल्नी भएको छ ।


अग्नी पीडितलाई त्रिपाल लगायतका बन्दोबस्तीका सामान दिने तयारी गरिएको वडाध्यक्ष राईले बताए । अग्नी पीडितका छोरा बिदेशमा र बुहारी उदयपुर बस्दै आएकी छन् ।

प्रकाशित मिति : असोज ५ शुक्रवार, २०७५