सिप सिकेर विदेश जानेको कमाई राम्रो

तारानाथ फूयल सामाजिक परिचालक
सुरक्षित आप्रवासन सामि परियोजना नवकिरण सेवा समाज नेपाल

हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका चईन कुमार राई नेपालमा बसेर केही पनि नहुने सोँच बनाएर विदेश जाने सपना बोकेर काठमाडौ गए । तर सोँचे जस्तो भएन, धेरै दुःख पाए, उनीसँग कुनै सिप नभएपछि । विदेश नै नपुगी दुःख पाएपछि उनलाई सीप सिक्नुपर्ने रहेछ भन्ने लाग्यो । अनि काठमाण्डौंमा बसेर ईलेक्ट्रोनिक्स तालिम सिके । ईलेक्ट्रोनिक्स तालिम सिकेपछि उनी सन् २००२ मा सयकडा ३ का दरले ऋण खोजेर युपिईयस मेनपावरलाई ७० हजार रकम तिरेर आठ सय रियल पाउने गरि साउदीमा ईलेक्ट्रोनिक्स कम्पनीमा गए ।

तर म काम गर्ने ठाउँमा एक जना चाहिएको रहेछ । तर फिलिपिनी, श्रीलंके र म नेपाली गरी तीन जना भयौ । त्यहाँ तोकिएको कम्पनीमा काम गर्नका लागि हामी तीन जनालाई अन्र्तवार्ता लिएकोमा म पर्न सकिन । अनि म लेबर काम गर्नुपर्ने भएपछि नेपालमा लिएको तालिम वालुवामा पानी लगाए जस्तो भयो । आठ सय रियल कमाउने सपना पनि चकनाचुर भयो ।

लेबर काम गरेको एक महिनाको कमाई पाँच सय हात लाग्यो । कम्पनीमा वस्नको मात्र व्यवस्था थियो । खाएर महिनाको दुई सय ५० रियल मात्र बच्यो । त्यसको ३ महिनापछि त्यस ठाउँको लागि अकमा पतकाको लागि मेडिकल कम्पनीले मेडिकल गर्दा मेडिकल फेल भएको रिर्पोट दियो । मेडिकल फेल भएको रिर्पोट आएपछि कम्पनीले मलाई नेपाल फर्काइ दियो ।

 

त्यसपछि मेरो सबै सपना चकनाचुर भयो । साहुँको ऋण जस्ताको तस्तै थियो । नेपाल फर्किएपछि मेरो तीन/चार वर्ष त्यतिकै बित्यो । साहुँको ऋण दिनानुदिन बढिहेको थियो । नेपालमा कुनै विकल्प नभएपछि फेरि कतार जाने सोँच बनाएर तालिम सिके । अनि २००६ मा गल्फ मेनपावरबाट कतारको सिसीआईसी कम्पनीमा ईस्काफोल्डरको काममा गए ।

त्यस ठाउँमा आठ सय भनेर गएको थिए तर मासिक र ओभर टायमको गरेर एक हजार तीन सयसम्म कमाउन सफल भए ।कतार बसाइको ४ वर्षमा पहिले जाँदाको र पछिको ऋण साहुँलाई तिरेर केही बचाउन सफल भए । त्यसपछि नेपाल फर्किए । कतारबाट नेपाल आएको छ महिनापछि फेरि युएईको सिएई कम्पनीमा बेसिक एक हजार आठ सय दिराम पाउने गरि अघि सिकेको ईस्काफोल्डरमा काम गर्नको लागि गए । गएको ३ महिनापछि स्काफोल्डिङ फोरमेनको रुपमा काम गर्ने अवसर मिल्यो अनि भनेजति दाम पनि पाईयो ।

बेसिक र ओभरटाइम गरेर तीन हजार पाँच सय दिरामसम्म मासिक कमाउन सफल भए अर्थात नेपालीमा ९० हजारदेखि एक लाखसम्म कमाई भयो । युएईमा दुई वर्ष काम गर्दा २१ लाख बचाउँन सफल भए । त्यहि पैसाले दुई ठाउँमा घडेरी किने । घर बनाए । मैले यति कमाउनुमा आफूसँग निरन्तरता र नेपालमा सिकेको सिप नै हो ।

प्रकाशित मिति : असोज ७ आइतवार, २०७५