नगरप्रमुखले भने ‘सेन्तेरेम खाने शिक्षकलाई छाड्दैनौँ’

खोटाङ । हिजोआज जाँड–रक्सी लगायतका मादक पदार्थलाई चिनाउन ‘सेन्तेरेम’ वा ‘सोलमारी’ शव्दको प्रयोग हुने गरेको पाइन्छ । जाँड–रक्सीले मातेको मान्छे देखिए, भेटिए व्यांग्यात्मक शैलीमा ‘सेन्तेरेम’ लागेछ भन्ने गरेको सुनिन्छ । प्रयोगका हिसावले सेन्तेरेम शब्द मादक पदार्थकै समानार्थी शब्दका रुपमा स्वीकार्य जस्तै बनिसकेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले समेत आईतबार दिक्तेलस्थित सरस्वती आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा मादक पदार्थलाई ‘सेन्तेरेम’ र ‘सोलमारी’ भने । विद्यालयमा मादक पदार्थ सेवन गरेर आउने शिक्षकलाई कडा कारबाही गर्ने चेतावनी दिनेक्रममा नगरप्रमुख रिजालले मादक पदार्थको सट्टा ‘सेन्तेरेम’ र ‘सोलमारी’ शब्द बोलेका हुन् ।

‘सेन्तेरेम  खाएर विद्यालयमा आउनुहुन्छ भने हामी छाड्दैनौँ, कडाभन्दा कडा कारबाही गर्छौँ,’ नेवा पुचः नामक संस्थामा आवद्ध युवाले सञ्चालन गरेको ‘ह्याण्ड इन ह्याण्ड’ फेसबुक ग्रुपका माध्यमबाट संकलन भएको रकमबाट स्थापना गरिएको पुस्तकालय उद्घाटन कार्यक्रममा नगरप्रमुख रिजालले भने, ‘तर, हामी कारबाही मात्र गर्दैनौँ, राम्रो काम गर्ने शिक्षकलाई पुरस्कृत पनि गर्छौँ ।’ प्रमुख अतिथिका रुपमा नगरप्रमुख रिजालले जाँड रक्सीको सट्टा सेन्तेरेम र सोलमारी भनेपछि उपस्थित अतिथि, शिक्षक, व्यवस्थापन समिति, अभिभावक लगायत मुसुमुसु हाँसेका थिए ।
मादक पदार्थ सेवन गरेर आउने एक शिक्षकका कारण सरस्वती आधारभुत विद्यालयका प्रअ तथा व्यवस्थापन समितिले हैरानी खेपेको जाने बुझेका नगरप्रमुख रिजालले आगामी दिनमा मादक पदार्थ सेवन गरेर आएको पाइएमा ‘ठाउँको ठाउँ’ कारबाही गर्ने चेतावनी दिएका छन् । उनले नगरका माबिमा इहाजिरीको व्यवस्था गरिसकेकाले निगरानी समेत गरिरहेको उल्लेख गरे । मन्तव्यकाक्रममा नगरप्रमुख रिजालले मादक पदार्थ भन्नुपर्ने सबै ठाउँमा सेन्तेरेम र सोलमारी प्रयोग गरे । नेवा पुचः नामक संस्थामा आवद्ध युवाले सरस्वती आधारभुत विद्यालयमा करिब ६ लाखको खर्चमा पुस्तकालय स्थापना गर्नुका साथै ९८ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।

प्रकाशित मिति : असोज १५ सोमवार २०७५,   समय समय ७ : २९