खोटाङमा किलोमिटरका आधारमा सार्वजनिक यातायातको भाडा दर निर्धारण

पुस १० मंगलवार, २०७५
खोटाङ । खोटाङमा किलोमिटरका हिसाबले सार्वजनिक यातायातको भाडा निर्धारण गरिएको छ । हालसम्म विना मापदण्ड लमसममा सार्वजनिक यातायातको भाडा निर्धारण गरेर लागू गरिँदै आएकामा जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको यातायात क्षेत्र सुधार सम्बन्धी बैठकले हालसम्मकै कम भाडा दर तोकेको छ ।
आगामी पुस १५ गतेदेखि लागू हुनेगरी जिल्लामा सञ्चालित कच्ची सकडमा ५० किलोमिटरसम्मको दुरी भएको सडकमा बसका लागि प्रतिकिलोमिटर ८ र जीपका लागि साँढे १० रुपैयाँ भाडा लिन पाउने व्यवस्था गरिएको छ । सवारी साधन तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ अनुसार राजमार्गमा बसमा यात्रा गर्नका लागि प्रतिकिलोमिटर ४ रुपैयाँ र जीपका लागि प्रतिकिलोमिटर ५ रुपैयाँ भाडा दर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले वताए ।

यस्तै, ५० किलोमिटरभन्दा बढि दुरीको कच्ची सडक भए बसका लागि प्रतिकिलोमिटर ६ रुपैयाँ र जीपका लागि प्रतिकिलोमिटर साँढे ८ रुपैयाँ भाडा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यसअघिका भाडा दर कुन आधारमा धेर वा थोर निर्धारण गरियो भन्ने लजिक थिएन, । सो¥ह किलोमिटर सडकको भाडा पाँच सय लिने गरेको पनि देखियो,’ मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ पौडेलले भने, ‘अहिले हामीले सवारी साधन तथा यातायात व्यवस्था ऐन अनुशार दुरीका आधारमा नयाँ भाडा दर निर्धारण गरेका छौँ ।’

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलबाट हलेसी–जयराम हुँदै बाहिरिने सडकमा बसका लागि प्रतिकिलोमिटर ४ रुपैयाँ र जीपका लागि प्रतिकिलोमिटर ५ रुपैयाँ भाडा दर लागू हुने छ । भने, जिल्लाका दिक्तेल–बाक्सिला,दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–पाथेका, दिक्तेल–जालपा, दिक्तेल–पञ्चमीबजार लगायतका कच्ची सडकमा भने बसका लागि प्रतिकिलोमिटर ८ र जीपका लागि साँढे १० रुपैयाँ भाडा कायम भएको छ । यस निर्णयले जिल्लाका कतिपय सहायक कच्ची सडकमा दोब्बर र तेब्बरले सार्वजनिक यातायातको भाडा दर घटाएको छ ।

दुर्घट्नाको समस्या बढि देखिएको तथा अवैध सामान ओसार–पसारकाक्रममा समेत प्रयोग हुने सम्भावना भएकाले ट्याक्टरलाई बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने, बाटो छेकिने गरी ट्याक्टरको अगाडि झुण्ड्याइएको कपडा, पाल तथा श्रृंगारका सामग्री तत्काल हटाउने, चर्को आवाजमा गीत बजाउने वा इयरफोन लगाउन रोक लगाउने, कम्तीमा चालक र सह–चालकको वीमा ट्याक्टर धनीबाट गराउने निर्णय भएको छ । यस्तै, ट्राफिक प्रहरीकै आचरण र व्यवहारमा गुनासो आएकाले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मार्फत छड्के जाँच गर्ने, कतिपय ट्याक्टर चालकले लाईसेन्स नै नलिइ काम गरिरहेको पाइएकाले पहिचान गरेर कारबाही गर्ने, ट्याक्टर मालिकले चालकको लाइसेन्सको सक्कलप्रति हेरेर र जाँचबुझ गरेर मात्र चालक नियुक्ती गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

जिल्लाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सबै सार्वजनिक सवारी साधनले टाईम कार्डको पालना गर्ने, हरेक यात्रुलाई टिकट अनिवार्य दिने, जिल्लामै ठेगाना भएका वा जिल्ला बाहिर ठेगाना भएका यातायात कम्पनीले दर्ता तथा रुट पर्मिटको कागजात आ–आफ्नो सवारी साधनमा राख्न र सो कागजातको प्रति हप्ता दिनभित्र प्रशासनमा बुझाउनु पर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

KHOTANGTODAY ONLINE TV