लाेकसेवा अनुभव : आफ्नो परीक्षा आफैँ लिएँ

पहिलो आवश्यकता : सूचना र चेतना

खोटाङ जिल्लाको सुदूरदक्षिणी भेगका तत्कालीन १२ वटा गाविस (हाल २ वटा गाउँपालिका)का अधिकांश बासिन्दा राई समुदायका छन् । त्यहाँका युवा स्थायी जागिर भनेको लाहुरे (बेलायती सेना, सिंगापुर प्रहरी, भारतीय सेना, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी) को जागिर भन्ने बुझ्छन् ।
पढ्नुपर्छ भन्ने चेतना र शिक्षण पेसामै रहे पनि निजामती सेवाको कुनै सूचना तथा जानकारी पाउन मुस्किल थियो ।

त्यस भेगका मानिसले नजिकबाट भेट्ने निजामती कर्मचारी भनेको काम परेको बखत गाविस सचिव वा स्वास्थ्याैकीका अहेव मात्र हुन् ।

अध्ययनको सिलसिला र नोकरीको खोजीमा कहिले विराटनगर र कहिले काठमाडौं आउजाउ गर्दा क्याम्पसका साथीहरू कोही खरिदार, कोही सुब्बा, कोही शाखा अधिकृतको परीक्षा पास गरी निजामती कर्मचारी भएको देखियो । यसबाट रोजगारीको राम्रो विकल्प लोकसेवा आयोगले लिने परीक्षालाई लिन पुगेँ ।

ढिलै भए पनि सही सूचना र चेतना पाउनु मेरो लागि निजामती सेवामा आउने प्रवेशबिन्दु भयो । यसले माथिल्लो उमेरहद पार गर्न लागेको अवस्थामा राजपत्रांकित तृतीय श्रेणीबाट निजामती सेवा प्रवेश गरेको मलाई साढे सात वर्षमै राजपत्रांकित प्रथम श्रेणीमा पुर्‍यायो ।

संस्था, प्रणाली र आफैँप्रतिको विश्वास

नेपालमा हालसम्म पनि सरकारी जागिर खानु भनेको ठूलै शक्तिकेन्द्रको निगाह र सहयोग हुनुपर्छ भन्ने बुझाइ छ । व्यवस्थापनमा स्नातकोत्तर गरेर तथा मातृभाषासँग सम्बन्धित परियोजनामा भाषाविद् र मानवशास्त्रीहरूसँग काम गरिसकेको तथा परियोजना पनि समाप्त भएको समय नेपालमै बसेर केही गर्ने कि विदेश जाने भन्ने द्विविधा भइरहेको थियो ।

आफूसँगैका केही साथीहरू शाखा अधिकृत भएपछि लोकसेवा आयोगको कार्यप्रणाली र निष्पक्षताप्रति केही भरोसा जागेर आयो । म पनि सफल हुन सक्छु भन्ने आफैँमाथिको विश्वास दह्रो भयो । संस्था, प्रणाली र आफैँप्रतिको विश्वासको कमीका कारण कति नेपाली युवा पलायन हुने र कतिले लोकसेवा आयोगको परीक्षा फाराम नै नभर्ने समस्या छ ।

सात वर्षको बीचमा मैले पहिलो साल लेखापाल, शाखा अधिकृत र लेखा अधिकृत, पाँचौँ र छैटौँ साल उपसचिव र सातौँ साल सहसचिवको लिखित परीक्षामा उत्तीर्ण हुँदा लोकसेवा आयोगको परीक्षा प्रणालीप्रतिको मेरो आस्था र विश्वास अझ मजबुत भयो । फलस्वरूप म परीक्षामा सफल भएँ ।

आफूअनुकूल योजना बनाएँ

लोकसेवा आयोगको परीक्षा तयारी गर्दा सबै उम्मेदवारले विभिन्न प्रकारका स्रोत सामग्री, समय, तयारी कक्षा, आफ्नो रुचि र शैक्षिक योग्यताबमोजिमको विज्ञापन आदिको छनोट गर्नुपर्दछ । यी विययमा धेरै प्रकारका विकल्प हुने गर्दछन् । मैले परीक्षा तयारी गर्ने क्रममा सबभन्दा पहिला त आफ्नो शैक्षिक योग्यता र रुचिअनुसारको विज्ञापन हुने सबैजसो सेवा समूहका पाठ्यक्रम हेर्ने र तुलना गर्ने गर्थें । यसबाट थोरै समयमा धेरै सेवा वा समूहका लागि परीक्षा तयारी गर्ने शीर्षकहरू पहिचान गरी सोहीबमोजिमका पुस्तक, पत्रपत्रिका, लेख, रेडियो तथा टेलिभिजन कार्यक्रममा बढी ध्यान केन्द्रित गरेँ ।

योजनाबद्ध तरिकाले कम्तीमा २ देखि ३ वर्षको लागि परीक्षा तयारी गर्नुपर्छ भन्ने सोचले पाठ्यसामग्रीहरू तुलनात्मक रूपमा अध्ययन गरेँ । व्यक्तिगत, पेसागत, पारिवारिक तथा सामाजिक कामलाई प्राथमिकीकरण गरी छनोटका आधारमा आफ्नो अध्ययनलाई अगाडि बढाएँ । यसले समय व्यवस्थापनमा सहजता ल्यायो । योजनाबद्ध तयारी गर्नाले समय र तनाव व्यवस्थापनमा सहयोग पुग्यो ।
मैले प्रायः पछिल्लो समयमा प्रकाशन हुने नयाँ पुस्तकहरू अध्ययन गरेँ । सहसचिवको तयारीका लागि सीमित तर ‘सेलेक्टिभ’ सामग्री मात्र अध्ययन गरेँ । बढी त मैले पुराना प्रश्नहरूको जवाफ लेख्ने, नयाँ मामिला तयार गरी सोको उत्तर लेख्ने गरेँ ।

परीक्षालाई तनावका रूपमा लिइनँ

लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएर मात्र हुँदैन । यसमा सबैभन्दा उत्कृष्ट तथा माग गरिएको पदसंख्याभित्र पर्न सक्नुपर्दछ । यसमा विज्ञापित सेवा समूहमा सम्मिलित हुने प्रतिस्पर्धीको संख्या, प्रतिस्पर्धात्मक क्षमताले पनि प्रभाव पार्छ । यो संयोग, अवसर तथा चुनौती पनि हो, जसको पहिचान गरी आफ्नो अनुकूल बनाउन सक्नुपर्दछ ।

अध्ययन तथा परीक्षाको तयारीका समयमा घरपरिवारका सदस्यको, कार्यालयमा सहकर्मी तथा सुपरीवेक्षकको एवं शुभचिन्तक आफन्त, साथीभाइको सकारात्मक र सिर्जनात्मक सहयोगले समेत मलाई हौसला बढायो । र, अन्तमा सफल पनि बनायो ।

मैले कार्यालयको काम छाडेर, घरपरिवारको समस्या पन्छाएर, सामाजिक गतिविधिमा निष्क्रिय भएर तथा मोबाइलको फोन स्विच अफ गरेर कहिल्यै परीक्षा तयारी गरिनँ । मैले परीक्षालाई तनावका रूपमा लिइनँ । आफ्नो परीक्षा आफैँले लिन सक्नुपर्छ । मैले आफैँले आफ्नो परीक्षा बारम्बार लिइरहेँ । सकारात्मक दृष्टिकोणबाट परीक्षाको तयारी गर्नुपर्दाेरहेछ भन्ने ज्ञान भएको छ ।

राई महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक हुन् ।(नयाँपत्रिका दैनिक अनलाईनबाट।)