भोजपुरमा ज्यान गुमाएका प्रहरी जवान सञ्जिवलाई सहिद घोषणा

भदौ २९ आइतवार, २०७६
खोटाङ । भोजपुरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्तासँग भएको मुठभेडमा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।

गत असार २५ गते भोजपुरमा भएको मुठमेडमा ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा मैतुङका प्रहरी जवान राईलाई आईतबार बसेको मन्त्री परिषदको बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषदको निर्णय अनुसार सरकारले दिवंगत प्रहरी जवानको परिवारलाई १० लाख राहत दिने पनि निर्णय गरेको जनाएको छ ।

भिडन्तमा विप्लव नेतृत्वको पार्टीको ओखलढुंगा इन्चार्ज निरकुमार राईले पनि ज्यान गुमाएका थिए । परिवारका जेठो सन्तान रहेका सञ्जिवका श्रीमती र दुई नावालक छोरा छन् ।

२०४५ साल पुस ९ गते जन्मिएका सञ्जिव शान्ति प्रकृयाकैक्रममा नेपाल प्रहरीमा भर्ना भएका थिए । उत्कृष्ट काम गरेवापत उनी भोजपुरमा महिनाको उत्कृष्ट प्रहरीबाट समेत पुरस्कृत भएका थिए ।

तराई सरुवा भएपनि उनलाई काजमा निकै समय भोजपुरमै राखिएको आफन्तको भनाई छ । सरुवा भएपछि उनले परिवारलाई तराई झारिसकेका थिए ।