उच्च शिक्षा प्राप्त र शिक्षा नपाएका आमाबीच पूर्ण स्तनपानको दरमा अन्तर

नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने दरमा आमाको शिक्षास्तरअनुसार केही अन्तर देखाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सोमबार सार्वजनिक गरेको तथ्यांकमा औपचारिक शिक्षा नपाएका आमाहरूमा पूर्ण स्तनपानको दर उच्च शिक्षा प्राप्त आमाहरूको तुलनामा बढी देखिएको हो ।

स्वास्थ्य विज्ञहरूका अनुसार जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्नु र पहिलो ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनु शिशुको स्वस्थ वृद्धि र विकासका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। छ महिना पूरा भएपछि भने आमाको दूधलाई निरन्तरता दिँदै उमेरअनुसारको थप पोषिलो आहार सुरु गर्न सकिन्छ।

स्वास्थ्यकर्मीहरू भन्छन्, आमाको दूध शिशुको पहिलो खोप, पहिलो पोषण र स्वस्थ जीवनको आधार हो। त्यसैले चिकित्सकीय रूपमा विशेष आवश्यकता नपरेसम्म नवजात शिशुलाई आमाको दूधबाहेक अन्य दूध दिनु उपयुक्त नहुने बताएका छन् ।

अभिभावकले जन्मलगत्तै ल्याक्टोजन, फर्मुला दूध, गाई–भैँसीको दूध वा अन्य तरल पदार्थ खुवाउने गरे पनि आमाको दूधबाहेक अन्य दूध चाँडै खुवाउँदा झाडापखाला, निमोनियालगायत संक्रमण, एलर्जी तथा कुपोषणको जोखिम बढ्न सक्ने स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनु भयो ।

हाल खोटाङ जिल्लामा ६६ वटा बर्थिङ सेन्टर रहेका छन् । बुढाथोकीका अनुसार नेपालमा २२ प्रतिशत आमाले शिशुलाई दूधदानीबाट दूध खुवाउने गरेका छन् । यसमध्ये कोशी प्रदेशमा २५ प्रतिशत, मधेसमा १२, बागमतीमा ४३, गण्डकीमा २७, लुम्बिनीमा २४, कर्णालीमा ११ र सुदूर पश्चिममा १५ प्रतिशत दूधदानीबाट दूध खुवाउने गरेको पाइएको हो ।