चिन्ताजनक तथ्यांक: खोटाङमा आत्महत्या गर्नेमध्ये १० जना बालबालिका

खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ६३ जनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष २०८२/८३ मा संख्या बढेर ७४ पुगेको हो । एक वर्षमै ११ जनाले बढी आत्महत्या गरेका छन् । झुण्डी आत्माहत्या ६९ जना, बीस सेवन आत्माहत्या चार जना, र आत्माहत्या दुरुत्साहन झुण्डी आत्माहत्या १ जना रहेको जनाईएको छ । आत्माहत्या गर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २० जना, हलेसी तुवाचुङ नगरपालिकामा १० जना, ऎसेलुखर्क गाउँपालिकामा ५ जना,रावाबेशी गाउँपालिकामा १ जना, जन्तेढुङ्गा गाउँपालिकामा ५ जना,खोटेहाङ गाउँपालिकामा  ७ जना,साकेला गाउँपालिकामा २ जना,केपिलासगढी गाउँपालिकामा ८ जना , दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १२ जना र बराहपोखरी गाउँपालिकामा ४ जना रहेको तथ्यांकमा उल्लेख छ । आत्महत्या गर्ने मध्ये १० जना बालबालिका रहेका छन् ।

बढ्दो सामाजिक सन्जालको प्रयोग ,सहनशीलतामा कमि,पारिवारिक एक्लोपना,मनका कुराहरु सेयरिङ हुन् नसक्नु अभिभावकले बालबालिकालाई केयरमा कमि हुनु जस्तो कुराहरुले बालबालिकामा आत्माहत्या बढेको देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङको डिएसपी प्रकाश बुढाथोकिले बताउनु भयो ।

यहि सन्दर्भलाई लिएर जिल्ला समन्वय समिती खोटाङले मानसिक स्वास्थ्य समस्या तथा आत्महत्या न्यूनीकरण सम्बन्धी जिल्लाका विभिन्न सरोकारवालाहरु सङ्ग बुधबार एक दिने सचेतना  अभिमुखिकरण कार्यक्रम गरेको छ ।

परिवारको लागि अत्यास लाग्दो अवस्था सङ्गै समाज र राज्यको लागि पीडा र चुनौती रहेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनु भयो । यो सामाजिक संरचनाको बदलाव र डिजिटल प्रविधिको समुचित उपयोग नहुनाले यो धान्नै नसक्ने समस्याको रुपमा खडा भई चुनौती रहेको र यसको समस्या समाधानका खोजीका लागि  सरोकारवाला सवैलाई सजग गराउने उद्देश्यले यो कार्यक्रम गरिएको  प्रमुख राईको भनाई छ ।

मानसिक तनाव, डिप्रेसन, पारिवारिक विवाद, सामाजिक एक्लोपन, आर्थिक समस्या, परीक्षा वा अध्ययनको दबाब, घरेलु हिंसा, मदिरा वा लागूऔषधको दुरुपयोग तथा समयमै परामर्श सेवा नपाउनुजस्ता धेरै कारणहरू एकआपसमा जोडिएर यस्तो अवस्था सिर्जना हुन सक्ने मानसिक स्वास्थ्य मनोबिद रोमन प्रजापतीले बताउनु भयो ।

जिल्लामा आत्महत्या न्यूनीकरणका लागि विभिन्न निकायले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि पछिल्लो तथ्यांकले ती प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्ने संकेत गरेको छ।

जिल्लामा मानसिक स्वास्थ्य सेवा अझै पनि सबै नागरिकको सहज पहुँचमा पुग्न सकेको छैन। विशेषगरी ग्रामीण भेगका नागरिकले मानसिक स्वास्थ्य समस्या भए पनि उपचार वा मनोपरामर्श लिन हिच्किचाउने, सामाजिक लाञ्छनाको डर मान्ने तथा सेवा केन्द्रसम्म पुग्न कठिनाइ हुने अवस्था रहेको सरोकारवालाहरू बताउँछन्।

मानसिक स्वास्थ्य समस्या, पारिवारिक तनाव, आर्थिक कठिनाइ, दीर्घरोग, एक्लोपन, मादक पदार्थको दुरुपयोग, सम्बन्ध विच्छेद, सामाजिक कलंकजस्ता धेरै कारण मिलेर जोखिम बढ्न सक्ने जिल्ला अस्पताल खोटाङका डाक्टर रमेश श्रेष्ठले बताउनु भयो ।

मानसिक स्वास्थ्य सेवा विस्तार, विद्यालयमा नियमित मनोसामाजिक परामर्श, समुदायस्तरमा सचेतना अभिवृद्धि तथा जोखिममा रहेका व्यक्तिको समयमै पहिचान र सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।

आत्महत्या सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर सामाजिक समस्या भएकाले यसको रोकथामका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, विद्यालय, परिवार र समुदायबीच समन्वित प्रयास अपरिहार्य भएको सरोकारवालाहरूको भनाइ छ।