दुर्गम बस्तीका नागरिकको सहारा बन्दै हेल्लो डाक्टर 

मानिस जन्म पछि कुन समय के हुन्छ पत्तै हुँदैन बालक बयश्क हुँदै वृद्ध सम्मलाई स्वास्थ्य सेवाको आवश्यकता बढ्‌दै जान्छ। तर विडम्बना यी तिनै तहलाई हेर्ने हो भने स्वास्थ्य सेवाको सबैभन्दा बढी आवश्यकता हुने ज्येष्ठ नागरिक स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहने अवस्था नेपालका धेरै ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि छ। आर्थिक अभाव, भौगोलिक विकटता, यातायात सुविधाको कमी तथा परिवारका सदस्यहरू रोजगारीका लागि बाहिरिनुजस्ता कारणले धेरै ज्येष्ठ नागरिक लगायत सामान्य उपचारका लागिसमेत स्वास्थ्य संस्थासम्म पुग्न सकिरहेका छैनन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सञ्चालनमा ल्याएको हेल्लो डाक्टर कार्यक्रमले  स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका हाल सम्म ३४४० जना नागरिकलाई राहत मिलेको छ ।

गाउँपालिकाको विभिन्न वस्तीमा पनि यस्तै अवस्था देखिन्छ । गाउँगाउँमा सडक सञ्जाल विस्तार भए पनि नियमित र भरपर्दो सवारीसाधनको अभावका कारण स्वास्थ्य संस्था पुग्न अझै कठिन छ। कतिपय  नागरिकले सामान्य स्वास्थ्य परीक्षण गराउनका लागिसमेत घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा सामान्य स्वास्थ्य समस्या पनि समयमै उपचार नपाउँदा जटिल बन्ने गरेको छ।

यही समस्यालाई मध्यनजर गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाले  सञ्चालन गर्दै आएको “हेल्लो डाक्टर” कार्यक्रमले भने नागरिकको घरदैलोमा पुगि स्वास्थ्य उपचार गरिरहेको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकाले खटाएको स्वास्थ्यकर्मी, घरमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ।

फोन कलको भरमा उपस्थिति भइ उनीहरूको स्वास्थ्य अवस्था बुझ्ने, आवश्यक उपचार उपलब्ध गराउने तथा सम्मानजनक जीवनयापनका लागि आवश्यक सहयोग गर्ने यस अभियानअन्तर्गत नागरिकहरूको रक्तचाप, मधुमेह, श्वासप्रश्वास,  लगायतका स्वास्थ्य समस्याको परीक्षण गरिएको छ। आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै थप उपचार आवश्यक परेका १५० जना बिरामीलाई अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको हेल्लो डाक्टर कार्यक्रमका संयोजक सुरेश प्रधानले बताउनु भयो ।

सामान्य बिरामिको कारण आधारभुत अस्पताल सम्म पुग्न कठिन भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउँका चक्र बहादुर भुजेललाई भने ठूलो राहत मिलेको छ । सामान्य उपचार पश्चात् आधारभुत अस्पताल ओख्रेसम्म पुगेर थप सेवा लिएको बताए ।