फेरी सडक भासिएपछि तातोपानी नाका बन्द

असोज ८ बुधवार, २०७६

काठमाडौं । सडक भासिँदा तातोपानी नाका बन्द भएको छ । चीनको न्यालमदेखि खासाको रमितेसम्मको सडक भासिदा दसैंको मुखमा पनि नाका सुनसान भएको हो । सडक मर्मत सुरु गरिएकाले सवारी साधनको आवागमन पनि ठप्प पारिएको छ । पहिरोले भासिएको मितेरी पुल–न्यालम ४० किलोमिटर खण्डको मर्मत भइरहेको चिनियाँ प्रहरी अधिकारीले जनाएका छन् । ०७२ सालको भूकम्प, ०७३ को भोटेकोसी बाढी र बर्खापिच्छेको पहिराले क्षतिग्रस्त चीनको भूभागमा धमाधम काम भइरहेको छ ।

 

तातोपानी नाका बन्द गरेर अहिले मर्मत चलेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘साता दिनमा सडकको काम सक्ने जानकारी पाइएको छ, यसबारे जनप्रतिनिधिबीच छलफल गरिरहेका छौं,’ उनले भने । नाकालाई सहज सञ्चालन गर्न र सुरक्षा सतर्कता अपनाउन चिनियाँ र नेपाली जनप्रतिनिधिका बीचमा छलफल हुँदै आएको छ । एक चिनियाँ अधिकारीका अनुसार नाका बन्द भएलगत्तै चीनतर्फ सीमा सुरक्षाकर्मी पातलिएका छन् । नाका बन्द गरिए पनि चीनतर्फ पुनर्निर्माण र प्रशासनिक काम भने भइरहेको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हरि थापाले बताए ।

 

‘न्यालमबाट आउनुपर्ने कन्टेनर आउजाउ रोकिएपछि तातोपानी नाका एकदमै सुनसान बनेको छ,’ उनले भने । चहलपहल बन्द भए पनि नाकामा सुरक्षा व्यवस्था कडा नै भएको थापाले बताए । ०७६ असारयता यो नाकाबाट ६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । यहाँबाट ऊन, कपडा, विद्युतीय सामान, जुत्ता चप्पल, खेलौनाजस्ता सामग्री आयात हुने गरेको छ । नेपालबाट भने झन्डै १८२ प्रकारका सामग्री चीन निर्यात हुने अनौपचारिक सहमति छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।