स्याउ र संघीयता

मानवहादुर खत्री

असोज ८ बुधवार, २०७६
खोटाङ । १९ दिने दोस्रो जनआन्दोलनको सफलतापछि उपलव्धि स्वरुप नेपालबाट राजतन्त्रको अन्त्य र लोकतन्त्रको प्रादुर्भाव भयो । अव देश संघीय लोकतान्त्रिक गणतन्त्रको मिरमिरे बिहानीमा बहलाउन थाल्यो । जनताको उल्लास, खुशी तथा अपेक्षाले ठुलै अंक संग गुणन गर्न थाल्यो । विद्यालय, सार्वजनिकस्थल, भोजभतेर, धारा पधेरामा संघीयताको बारेमा छलफल, टिक्का टिप्पणी, व्याख्या, विश्लेषण, आलोचना, समालोचना खुबै घनीभूत भए ।

कसैले समर्थन कसैले विरोध आदि आदि चियाको चुस्कीसंगै, मादक पदार्थको सुरुप सङ्गै र चुरोटका सर्कासंङै जनमानसमा रुमलिन थाले । वास्तवमा संघीयता आफैमा नराम्रो होईन । संघीयता लागू भएका केही देशहरुमा विकास र समृद्विले उचाई लिएकै छ । जनतालाई अधिकार र स्वायत्तता दिनु प्रदेशिक विकास गर्नु स्थानीय र प्रदेशकोबिच स्वस्थ विकास र प्रतिस्पर्धा गर्नु आदि सकारात्मक कार्यले देशले चाडै कोल्टो फेर्ने कुरा निर्विवाद छ । संघीयता आफैमा नराम्रो खर्चिलो र देशले भारबहन गर्न नसक्ने भनेर सोचिएको कुरा पनि सही होईन । यो अशल र प्रतिस्पर्धी साथै कल्याणकारी पद्वति हो ।

वर्तमान परिप्रेक्षको अवलोकन गर्दा यसलाई खर्चिलो बनाईयो । संघीयताको बुझाई, अर्थ लगाई उपभोग गराईलाई दुरुपयोग गरियो । जातिय, लंैगिक, धार्मिम साम्प्रदायिकता ल्याउने गरी अथ्याईयो । पद्वति, सिद्धान्त एकापटि थन्क्याएर आफू अनुकुल बनाउदै रवाफिलो, भड्किलो, विलासी र कुलीन पद्धतिमा रुपान्तरण गरियो । दीर्घकालीन उत्पादनशिलता र दिगो विकास उन्मुख नभई अनुकूलको विकासे काममा बजेट घोप्ट्याएर मातहतकालाई रोजगारी, ठेक्कापट्टा र भत्ता अनि रोजीरोटीको दाउपेच अबलम्बन गरियो । सेवाग्राहीलाई हतोत्साही बनाउने, भड्काउने, ढिल्लासुस्ती गर्ने, निमुखा र कमजोरी वर्गलाई विभिन्न करको दायरामा कोचेर ढाड सेक्ने काम गरियो ।

आखिर यहि हो त लोकतान्त्रिक संघीयताको उपलब्धि ? वास्ताविक वर्ग संघर्षको धेय ? वास्तविक साम्यवादको नीति कमाउवादमा नै परिवर्तन भएको हो त ? संघीयताको मुल मर्म भनेको स्थानीय तह, प्रदेश र संघलाई सशक्त अधिकार सम्पन्न स्वयत्त र स्वावलम्बी बन्दै अग्रगामी विकासमा छलाङ मार्नु होईन र ? जनआन्दोलनको उपलब्धिलाई सुरक्षित अवतरण गराई संस्थागत गरी सहादत प्राप्त सहितको सपना साकार भएकै हो त ? चुकुल कहाँ र कसरी खुस्कियो ? विप्लब विद्रोह किन मौलाउदैछ ? शाही कदम किन टाउको उठाउदैछ ? जनआक्रोश किन बढदैछ ? गरिब र धनी बिचको दुरी किन बढिरहेको छ ? प्रतिभापलायन ? बेरोजगारी समस्या, भ्रष्टाचार, विकृति, विसंगति लुटपात, अपहरण, हत्या, हिंसा, बलात्कार किन बढ्दो छ ? के संघीयताले तमाम प्रश्नहरुको जवाफ दिन सामथ्र्य राख्छ ? संघीयताको मुल मर्म स्थानीयकरण, स्वायतता, सार्वभौमसत्ता जनतामा निहित, आर्थिक स्रोतको खोजी, स्रोत परिचालन, उद्यमशिलतालाई हौसला बजार व्यवस्थापन, दिगो विकास वातावरणीय सन्तुलन, उद्योग, व्यवसायको सम्भावित पकेट क्षेत्र घोषणा र प्रोत्साहन, पारदर्शिता र जनसेवा साथै आधारभुत आवश्यक्ताको पूर्णतापछि अतिरिक्त आवश्यताको प्राथमिकरण हो ।

स्याउ खाने ईच्छा भएकालाई एउटा स्याउको दानाले फकाउनु संघीयता होईन । स्याउका बिरुवा दिने, हेरचाह, संरक्षण गरि हुर्काएर स्याउ उत्पादन गर्ने वातावरण बनाउने, बजारीकरण, यातायातको व्यवस्थापन गर्नु चुरो कुरा हो । परिपाटी विपरित भएको छ । स्याउ सिमितलाई दिईयो, बिरुवा बाढिएन, भात बाढियो, खेती गर्ने रहर र विधि बाढिएन, आर्थिक स्रोतको संभाव्यता खोजी भएन, अर्थको दोहन गरियो । दिगो विकास र उत्पादनशिल क्षेत्रमा नजर अन्दाज गरियो । करले सेक्यो तर कर तिर्न उत्साहित बनाईएन । औकात बिर्सेर फोस्रो आडम्बर रोज्ने काम भयो । सेतो नम्बर प्लेट अनिवार्य चाहियो अनि दुरुपयोग गरियो । सुरक्षित र मापदण्ड सहितको भू”नीति आएन । पर्यावरणीय स्वरुप र सौन्दर्य खल्बल्याएर पहाडी भू”भागलाई जोखिम बनाईयो ।

हिउँदभरी सडक सञ्जाल फिजाएर वर्षातको समयमा प्राकृतिक प्रकोपलाई नियन्त्रण गरियो । आम जनसमुदाय पिउने पानीले काकाकुल बनिरहँदा, एक आङ झुम्रो र एकपेट खानाको लागि संघर्ष गरिरहँदा आधारभूत आवाश्यक्तालाई ओझेल पार्दै अनुत्पादनशिल क्षेत्रमा लगानी थुपारेर निरास पारियो । बसाईसराई, प्रतिभा पलायन जनहतोत्साह रोक्न पहाडी ईलाकामा शिक्षा र स्वास्थ्यको प्रवोधिकरण र व्यवस्थापन गरिएन । प्रविधिको विकास रोजगार र व्यवसायीमुखी शिक्षामा लगानी भएन । दक्ष सिपालु, कर्मठ, मेघावी र उम्दा युवा जनशक्तिलाई कुम्लो कुटुरो बोकेर निरास बन्दै मुग्लान पस्न बाध्य बनाईदैछ ।

भोलीको ख्याल नगरी आजमात्र रमाउने भौतिकवादी मानसिकता बनाईयो । स्थानीय उत्पादन सभाव्यताको खोजी, पर्यटकीय उद्योगको विकास र बिस्तार, उद्यमीलाई प्रोत्साहन स्वरोजगारको बैज्ञानिक कार्यान्वयन विधिको शासन, सर्वाधिकार सम्पन्न जनता आदि संघीयताका पर्यायहरुलाई कुल्चिने दुष्साहस गरियो । यस्ता कुठित सोँच र कार्यले संघीयतामा तुषारापात गर्दैछ र नाविक बेगरको जहाज र कुहिरोमा रुमलिएको कागको यात्रा गराउदैछ । अहिले लोकतन्त्रको परिदृष्य नियाल्दा एउटा संस्कृत सुक्तिको याद आईरहेछ “यावत जिवेत, सुखम जिवेत, ऋण कृत्वा घृतं धिवेत, भष्मी भुतष्य देहष्य पुनरागमन कूत ।” यहि परिप्रेक्षमा कवि शिरोमणी लेखनाथ पौड्यालको कविताको केही हरफ दोहोया¥उन पनि उचित हुन्छ ।

“म खाउ मै लाउ सुख सयलका मोज म गरु
म हासु मै नाचु अरु सब मरुन दुर्वलहरु
भनी दाह्रा धस्ने अबुझ सठ देखि छक्क परी
चित्ता खित्का छाडी अमय शीत हास्यो मरिमरी”
(लेखक खत्री सरस्वती मावि मात्तिम, साकेला गाउँपालिका-५ खोटाङका शिक्षक हुन ।)