दिप्रुङमा ‘एक वडा एक दलित सहकारी’ स्थापनाको काम सुरु
दलित सहकारी स्थापनाका विषयमा अवधारणा प्रस्तुत गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ।
असोज १० शुक्रवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको काम थालेको छ । पिछडिएका दलित समुदायमा बचत गर्ने र सो बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकासका लागि गाउँपालिकाले ‘एक वडा एक दलित सहकारी’ स्थापनाको पहल थालेको हो ।
आर्थिक र सामाजिक रुपमा पछि परेका दलित वर्गको उत्थानका लागि दलितसँग सहकारी कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ७ वडा रहेको गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी स्थापनाका लागि बीउ पुँजी स्वरुप आर्थिक वर्ष २०७६/०७७ मा ५ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।
सहकारी स्थापनाका लागि दलित समुदायलाई विधान निर्माण, सहकारी दर्ता, आवश्यक तालिम, व्यवस्थापन लगायतका काममा गाउँपालिकाले सहयोग गर्ने जनाएको छ । दलित सहकारी स्थापनाका लागि विधान तयार पार्ने काम सम्पन्न भइसकेको अध्यक्ष राईले बताए । ‘छरिएर रहेको पुँजीलाई एक ठाउँमा बचत गर्ने र ऋण लिएर व्यवसायिक क्षेत्रमा लगानी गरेर दलित समुदायको आर्थिक स्तर उकास्ने उद्धेश्यले एक वडा एक दलित सहकारीको अवधारणा कार्यान्वयनमा ल्याइएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सहकारीको विधान बनाउनेदेखि स्थापनासम्मको काममा गाउँपालिकाले नै सहयोग गर्नेछ ।’
दलित सहकारी स्थापनाका लागि शुक्रबार ४/४ जनाका दरले ७ वटै वडाका २८ दलित प्रतिनिधिलाई सहभागी गराएर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । समावेसी शिर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट तालिम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर गाउँपालिकाले दलित सहकारी स्थापनामा लगानी गर्ने निर्णय गरेको जनाएको छ । ‘हरेक वर्ष दलितका लागि बजेट छुट्याइन्छ तर, खर्च अनुसार दलितको जीवनस्तरमा कुनै परिवर्तन आएको देखिन्न, कुनै उपलव्धि देखिन्न,’ अध्यक्ष राईले भने, ‘दलितको बजेटलाई अनुत्पादक क्षेत्रमा खर्च गरेर सक्नुभन्दा उत्पादनमुलक क्षेत्रमा लगानी गरौं भनेर काम थालिएको हो ।’
गाउँपालिकाका अनुसार दलित सहकारीको सञ्चालकदेखि कर्मचारी पनि दलित नै हुने छन् । आगामी दशैं र तिहारकोबीचमा सहकारी दर्ताको काम पूरा गरिने जनाइएको छ । बीउ पुँजीका रुपमा बिनियोजन गरिएको ५ लाख अपुग भए लगानी थप गरिने अध्यक्ष राईले बताए । अभिमुखीकरण कार्यक्रममा सहभागी दलित प्रतिनिधिले गाउँ फर्किएर सहकारी स्थापनाका लागि छलफल थाल्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालले सहजीकरण गरेका थिए ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



