समाजवादी यथार्थवाद : परिचय र मान्यता विषयक विचार गोष्ठी तथा ‘शिखरको ढुङ्गा’ परिचर्चा

असोज ११ शनिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेलमा समाजवादी यथार्थवाद : परिचय र मान्यता विषयक विचार गोष्ठी तथा ‘शिखरको ढुङ्गा’ परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक संघ खोटाङले जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजना गरेको एक दिने गोष्ठी सम्पन्न भएको हो ।

विचार गोष्ठीमा साहित्यकार डाक्टर धनप्रसाद सुवेदीले लेख्नुभएको ‘समाजवादी यथार्थवाद’ कार्यपत्रमाथि छलफल तथा उपन्यासकार सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुङ्गा’ को परिचर्चा गरिएको थियो । समाजवादी साहित्य के हो ? कस्तो हुनुपर्छ ? समाजवाद भनेको के हो ? लगायतका विषयमा बम बानियाले प्रस्तुत गरेको कार्यपत्रमाथि वेदीकुमार राई र हेमविक्रम राईले टिप्पणी गरेका थिए भने २०७५ सालमा प्रकाशित ‘शिखरको ढुङ्गा’ उपन्यासमाथि प्रलेसका केन्द्रीय सदस्य ओमप्रकाश घिमिरे र डिल्लीराम नाकाराले परिचर्चा गरेको प्रलेस खोटाङका अध्यक्ष चित्रकुमार सुवेदीले बताए ।


स्मृति केन्द्रका केन्द्रीय सदस्य मातृका पोखरेलको अध्यक्षता तथा प्रलेसका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’, र दुर्गाजयन्ती राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, सचिव रामप्रसाद दंगाल, जनवादी गायक जीवन शर्मा, उपन्यासकार सरल सहयात्री लगायतको सहभागिता रहेको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत भोलि जनवादी गायक शर्माको प्रस्तुति रहने जनाइएको छ । पहिलो पटक खोटाङ आएका जनवादी गायक शर्माले सिमली छायाँमा बसी, छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिदैन मलाई सिसाको महल लगायतका दर्जन बढी गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।