कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम

असोज १८ शनिवार, २०७६
खोटाङ । सिराहाको गोलबजार नगरपालिकाले आयोजना गरेको दोश्रो उपप्रमुख कप राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ । २२ वटा स्वर्ण पदकको लागि भएको प्रतिष्पर्धामा ७ स्वर्ण, ३ रजत र ४ कास्य जित्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको हो ।

बुधबार र बिहिबार भएको प्रतियोगीतामा महिला/पुरुष एकलकातामा मोतिचन्द्र राई, रोश्मा राई, समुहकाता महिलातर्फ नन्जु राई, रोश्मा राई, विद्याकला राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई स्वर्ण पदक दिलाएका हुन् ।

 

महिला कुमितेतर्फ ६१ प्लस केजी तौल समूहमा मिसडोना राई, ५५ केजी तौल समूहमा विद्याकला राई, पुरुष कुमितेतर्फ ७५ केजी तौल समूहमा रोजन राई र ७५ केजी प्लस तौल समूहमा ईश्वरधन राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

यस्तै, महिला कुमितेतर्फ ४० केजी तौल समूहमा युमासाम राई, ५० केजी तौल समूहमा नन्जु राई, ६१ केजी तौल समूहमा सोना राईले रजत पदक तथा पुरुष समूहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि राई र मोतिचन्द्र राई, कुमितेतर्फ ५५ केजी तौल समूहमा अर्जुन श्रेष्ठ र ६७ केजी तौल समूहमा रुरिहाङ दुमि राईले कास्य पदक दिलाएका हुन् ।

प्रतियोगीतामा ५ स्वर्ण जित्दै प्रदेश ३ काठमाण्डौं दोश्रो र ३ स्वर्ण जित्दै आयोजक गोलबजार नगरपालिका तेश्रो भएका छन् । प्रतियोगीताका विजेतालाई क्रमशः ५० हजार, ३० हजार र २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै खेलाडी मिसडोना राईले महिलार्फ उत्कृष्ट खेलाडीको पुरस्कार जितेकी छन् । उनले नगद ५ हजार र ट्रफि हात पारेकी छन् ।