चाडबाड : तडक भडक होईन, सादा

सम्पादकीय

असोज १९ आइतवार, २०७६
खोटाङ । वर्षायाम सकिएसंगै प्रायः सबै सम्प्रदायका महत्वपूर्ण चाडबाडहरु प्रारम्भ हुने गर्छन । यसै मेसोमा हिन्दुहरुको सबैभन्दा महत्व राख्ने चाड दशैले अनुयायीहरुको घर दैलोमा पाईला हालिसकेको छ ।

दशैको किन महत्व पनि छ भने, यस पर्वमा मान्यजनहरुसँग भेट गर्ने र आशिर्वाद प्राप्त गर्ने अभिप्रायले देश बिदेशमा रहेका आफन्तहरु घर फर्किने चलन छ । घरमा रहेकाहरु उनीहरुलाई कुर्छन र प्रदेशीहरु घर पुग्न हतारिन्छन् । मिलन पर्वको रुपमा मनाईने यो चाडको अत्यन्त सुन्दर पक्ष यही नै हो ।

यस बाहेक राम्रो लगाउने, मिठो खाने र सौहाद्रपूर्वक आफन्तसँग भलाकुसारी गरेर मनोरञ्जन प्राप्त गर्ने सुनौलो अवसरको रुपमा पनि यसको उतिकै महत्व छ । वर्षाभरी काममा जोतिएर बल्ल फुर्सदको सास लिन पाएका कृषकका निम्ति यो चाडको महत्व अझ बढी खास मानिन्छ । अर्को सुखद पक्ष के छ भने, यो चाड वर्षको सबैभन्दा बढी मातदिल मौसममा प्रबन्ध गरिएको छ ।

यस मौसममा जति नै गरिष्ठ भोजन खाएपनि अपच नहुने, न चिसो न तातो वातावरण अनि वर्षाभरि परेको पानीले हिलो मैलो पखालेर वातावरण स्निग्ध तुल्याएको बेला । साच्चै आनन्दको मौसम मौजुद रहन्छ यसबेला । यस्ता चाडपर्वहरुले सामाजिक सद्भाव र सौहद्रता बढाउँछन् भन्ने हाम्रो मान्यता हो ।

तर चाडबाड मनाउने क्रममा तडकभडक बढिरहेको र त्यसले समाजमा असहज स्थिति उत्पन्न गरिरहेको तथ्य पनि उत्तिकै सत्य हो । हुनेखाने वा नवधनाड्यहरुले यस्ता सार्वजनिक महत्वको चाडबाडमा अनावश्यक तडकभडक गरेर हिड्दा सिमित आय भएका मानिसका लागि चाडबाड धान्न हम्मे पर्छ ।

त्यसकारण सकेसम्म सामान्य किसिमबाट चाडबाड मनाउन प्रेरित गर्ने खालको अभियान चलाउनु आवाश्यक भैसकेको छ । चाडवाड मनाउने क्रममा व्यवहार डाँवाडोल गराउने खालको चलन निमिट्यान्न बनाउन सके दशै तिहार जस्ता चाडबाड वास्तवमा राम्रा अवसरको रुपमा जीवित रहन सक्छन् ।

बडा दशैको पावन अवसरमा हाम्रा ग्राहक, विक्रेता, विज्ञापनदाता, शुभचिन्तक एवम आम पाठक वर्गमा हार्दिक मंगलमय शुभकामना ।