पंखु खोलाको मोटरेवल पुल निर्माणको काम अलपत्र

असोज १९ आइतवार, २०७६
खोटाङ । ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको पंखु खोलाको मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुल ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण डेढ वर्षदेखि अलपत्र परेको हो । २०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हाल दुईतर्फको पिलर मात्र ठड्याएको देखिन्छ ।

 

२ करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले २०७२ साल असोज ७ गते पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । तर, पुलको पिलर ठड्याएपछि ठेकेदार काम छाडेर वेपत्ता बनेको स्थानीय बताउँछन् । ठेकेदारले करीब ४० प्रतिशत काम पूरा गरेर पुल अलपत्र छाडेको मध्यपहाडी सडक आयोजना पुर्वी खण्डका ईन्जिनियर दिपक खड्काले बताए ।

 

‘वर्ष दिनअघि नै बनिसक्नुपर्ने पुल अलपत्र परेकाले रुग्न ठेक्कामा परिसकेको छ,’ ईन्जिनियर खड्काले भने, ‘पुलको सव–स्ट्रक्चर र फाउण्डेसनको काम भइसकेको छ । सुपर–स्ट्रक्चरको काम मात्र बाँकी छ । हालसम्मको प्रगति हेर्दा ४० प्रतिशत काम सकिएको छ ।’

 

सम्झौता म्याद गुज्रेको १४ महिना बित्दा समेत पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको अवस्था छ । निर्माण कम्पनीले आवश्यक निर्माण सामग्री समेत निर्माणस्थलमा जम्मा गर्न नसकेको स्थानीयको भनाई छ । पुल निर्माणको काम अलपत्र परेपछि १५ दिने सूचना प्रकाशित गरेपछि बल्ल ठेकेदार सम्पर्कमा आएको ईन्जिनियर खड्काले बताए ।

 

सूचना प्रकाशित गरेपछि ठेकेदार कम्पनीले प्रतिनिधिका रुपमा हरिनारायण देवकोटालाई केही हप्ताअघि निर्माणस्थलमा पठाएको छ । देवकोटाले क्याम्प स्थापना लगायतका काम सुरु गरेको बताएका छन् ।

परिणाम विहिन निरीक्षण

पुष्पलाल मध्यपहाडी लोकमार्ग योजनाको प्रगति, ढिलासुस्ती र गुणस्तरका बारेमा निरीक्षण गर्न भन्दै गत जेठमा संघीय संसद प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका संयोजक कल्याणी खड्का नेतृत्वको टोली खोटाङ–भोजपुर–धनकुटा हुँदै पाँचथर पुगेर फर्कियो ।

 

सांसदको टोली लिएर संघीय संसद प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका संयोजक नै निरीक्षण र अनुगमनमा हिँडेपछि मध्यपहाडी लोकमार्गको कामले गति लिने अपेक्षा गरिएको थियो । तर, त्यो अनुगमन औपचारिकतामै सिमित हुन पुगेको स्थानीय बताउँछन् ।

दिक्तेलमा आयोजित अन्तरक्रियामा सहभागी जनप्रतिनिधि र स्थानीयले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोलाको मोटरेबल पुल निर्माणको काममा चरम ढिलासुस्ती भएको भन्दै पटक–पटक समितिको ध्यानाकर्षण गराएको थियो ।

 

समितिको टोली सोही अलपत्र परेको पंखु खोलाको पुलको पिलर हेर्दै अघि बढे पनि न पुलको काम सुचारु भयो न त ठेकेदारमाथि नै कारबाही भयो । सडक तथा पुलको ढिलासुस्तीका विषयमा समितिको निरिक्षणको कुनै प्रभाव र प्रतिक्रीया नदेखिएको स्थानीयको गुनासो छ ।