दशैं पर्वः सम्बन्ध सूत्रको मनोवैज्ञानिक दर्शन

कृष्णबहादुर बुढाथोकी

असोज २२ बुधवार, २०७६
खोटाङ । दशैं शब्द आफैंमा गर्विलो रमाइलो र आनन्द दिलाउने पर्वको नाम हो । समयक्रम र मानवीय संकुचित धारणाको मारमा परेर यसको अपकर्ष भइरहेको छ भने हुने कुरा निरन्तर चलेको छ । तथापि आगोलाई खरानीले छोपेपनि धुवा नछोपिए जस्तो सबैलाई यस पर्वले परोक्ष र प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । दशैंलाई पहिले नेपालीको महान पर्व भनेर सम्बोधन गरिन्थ्यो तापनि पछिल्लो सममयमा आएर यसलाई धर्मसँग जोडेर हिन्दूहरुको मात्र पर्व भनी नव परिभाषामा बाँध्ने काम गरियो ।

संस्कार, संस्कृति राज्यका अनमोल सम्पति हुन् तथापि “जान्नेलाई श्रीखण्ड” भनेझैं दशैंको विषयमा डेड अक्कली दर्शन जन्माएर दुनो भर्ने काममा लाग्नेको लर्को ठूलो छ । कसैले जातसँग, कसैले धर्मसँग, कसैले राजनीतिसँग यो अनमोल पर्वलाई सौदाबाजी गरेका छन् । तर विडम्बना दशैं बिदा र दशैं पेश्की लिन्न यो मेरो पर्व होइन भन्ने कोही भेटिएका छैनन् भने दशैं आयो के गर्ने भनेर अगिम्र योजना बनाउने, नाना र खानाको बन्दोबस्ती गर्ने हतारो सबैमा उत्तिकै दौडधुप गर्छन् ।

सबैले खानपान र लत्ताकपडा जोहो गर्ने तर दशैं मनिदैन भन्ने कुरामा तालमेल पाइदैन, तथ्य आधार भेटिंदैन । बाहिर दशैंको खिलाफ गरे पनि अरुसरह व्यवस्थापन गरेकै भेटिन्छ र अर्को नयाँ दर्शन झिकिएको छ, खानापान गरे पनि टिका नलगाउने भन्ने । यसबाट देखिन्छ कि टिकाटालो गर्न खर्चिलो होला भनेर । तर त्यो सत्य नहुन सक्छ । रातो टिकाको विषयमा आधारहीन मनगढन्ते अक्कल निकालिएको छ, हाम्रा पुर्खामाथि चढाई गरी निर्मम हत्या गरेर उनीहरुकै रगतमा मुछिएको रातो टीका भनेर । किंवदन्तीलाई सापटी लिने हो भने दानव वा राक्षसमाथिको विजय भनेको पाईन्छ, अब प्रश्न उठ्छ, दशैं बहिष्कार गर्ने जति राक्षसका सन्तान हुन त ? अर्को जटिल प्रश्न छ, टिकामात्र रातो नलगाउने हो वा पहिरान पनि रातो नलगाउने ? यो तर्कले रातो कपडा वा पहिरान , रातो रङको फूलको माला पहिरन पनि नहुने देखिन्छ । रातो जति बहिष्कार गर्ने हो त ? जसरी जिससका चेलाले रातो रगत नखाए झैं रातो मासु पनि पत्यिाग गर्नु पर्ने हुन्छ । संस्कृतिविद् जगमान गुरुङको भनाइ मान्ने हो भने कुनै बलिपूजा गरी रगतमा मुछेको चामल निधारमा लगाउन हुने तर सिम्रिकको रङ रगतको प्रतीक हुनसक्दैन भन्ने उठान गरेका छन् । तर्क जे भएपनि संस्कारगत रुपले यो पर्व सबैको होइन भन्न पाइन्छ तर प्रत्युत्पादक तर्क गर्नु जायज हुदैन, जसले समाजिक सहिष्णुताको जगमा खिया बसाउँछ । दशैं मनाउने चलन राम रमाइलोका लागि मात्र नभएर कुनै वैज्ञानिक आधारमा चलेको अनुमान गर्न माथापच्चिसी गर्नु पर्दैन । जुन विज्ञानसम्मत विषयले आज उप्रान्त पनि समाजलाई मर्यादित र अनुशासनको बाटोमा हिडाउने छ ।

दशैं मनाउन पर्ने पहलिो आधार मानवीय सम्बन्ध सूत्र कायम गर्ने र आदर सत्कारको संस्कारलाई निरन्तरता दिनुरहेको देखिन्छ । एकै रक्त सम्बन्धमा यौनिक समागम नहोस्, एकअर्काको पुस्तान्तर र रक्त सम्बन्धको ज्ञान होस् भन्ने हेतुले यो पर्वको थालनी भएको अनुमान गर्न सकिन्छ । आफ्ना आफन्त नातागोतासँग भेटघाट र सम्बन्ध नवीकरणको माध्यमको रुपमा दशैं पर्वलाई लिन सकिन्छ ।

बाहिरबाट दशैं कुनै वाद दर्शनसँग जोडिएको भएपनि आन्तरिक रुपमा यसले गहिरो अर्थ बोकेको छ । मानव विकासको चरणमा एउटै रक्त सम्बन्ध पर्न गए बाधा पुग्ने कुरा विज्ञानले प्रमाणित गरिदियो र नश्ल सुधारमा जोड दियो । शारीरिक तनदुरुस्ती, मानसिक अब्बलता, चेतनाको उच्च विकास, दीर्घायु र विवेकी मानव विकासका लागि रक्त सम्बन्धमा ध्यान पु¥याउन आवश्यक थियो । अदिम कालमा विज्ञान थिएन । कुनै धर्म वा संस्कारको माध्यमबाट मानिसलाई नैतिक बन्धनमा राखेर समाज सञ्चालन गर्न पथ्र्याे होला । यसै कारण वर्षमा एकपटक निकट रक्त सम्बन्धका मानिसहरु भेटेर जान पहिचान गराउन पनि यो पर्वको थालनी भएको हुनसक्छ । संसारको कुना कुनामा पुगेका एकै परिवार वा वंशका मानिसको विचमा भेटघाट र चिनजान नहुने हो भने विहावारी हुनसक्छ र कतिपय अवस्थामा यो घटना तपाईं हाम्रो समाजमा भेटिएका छन् । एकै वंशका दाजुभाइका छोराछोरीविच विहावारी भएको तथ्य हाम्रा सामु छन्। यो भेटघाट र जानपहिचानको अभावले निम्त्याएको दुर्भाग्य हो । वर्षमा एकपटकमात्र भेटघाट हँुदा पनि यस्ता घटना घट्नबाट जोगिने संभावना रहन्छ । दशैंले यो अवसर जुटाइ दिएको छ ।

दशैको अर्को महत्वपूर्ण पक्ष भनेको मान्यजनको आशिर्वाद लिनु हो । आफूभन्दा ठुलाको हातबाट टिका जमरा ग्रहण गरी आशिर्वाद लिने चलनले वृद्धावृद्धाहरुको सम्मान र संरक्षण गर्ने नैतिक दवाब सिर्जना गर्दछ । आज हामी बढी क्रान्तिकारी र आधुनिक बन्ने अभ्यासले अज्ञात रुपपमा गलत बाटो समाउन पुगेका छौं । जन्मदाता, कर्मदाता आमाबाबुलाई सडकमा पछार्छाै, वृद्धा आश्रममा हुत्याउँछौं अनि कुकुरलाई दैनिक नुहाइधुवाइ गरी विस्तारामा सुताउँछौं । यो नास्तिकताको पराकाष्ठ हो । यो नास्तिकतालाई कम गरी नैतिकताको ज्ञान दिन दशंैले सहयोग गर्दछ, कारण आशिर्वाद लिनका लागि भएपनि सन्तान वृद्ध आश्रम पुग्छ । वा पितृमातृ भाव बुझेर आमाबाबुको संरक्षण गर्दछ । हिजो आज धेरै आमाबाबुको अरण्य रोदन सुनिन्छ, सन्तानले त्यागेको, यी सबै घटनाको कारक नास्तिकता हो ।

दशैं पर्वको तेस्रो मननीय पाटो व्याहारिक परामर्श रहेको छ । यसले नैतिकता र अनुशासनमा जोड दिएको छ । मान्यजनको मर्यादा राख्नुपर्ने नियमसँगै कर्तव्यको बोध र इामान्दारिताको पाठ पनि अप्रत्यक्ष रुपमा सिकाएको छ । विभिन्न पौराणिक किंवदन्तीकोे सहारामा व्यवहरिक ज्ञानको परामर्श दिनु यो पर्वको मुख्य विशेषता हो । धर्म, संस्कृतिको स्खलनले समाजमा अराजकताको वीजारोपण भएको परिप्रेक्ष्यमा आफ्ना सन्ततीलाई संस्कार सिकाउन आवश्यक भएको छ । यसको सहज पूर्ति दशैं पर्वले गरेको छ ।

विशेष गरी तीन दिनसम्म औकात अनुसार मनाईने दशैंको दसौं दिन अर्थयुक्त र प्रभावकारी मानिन्छ । उक्त दिन देश विदेशमा रहेका आफन्तजन, नातगोता, भाइबन्धु, इष्टमित्रहरु आफूभन्दा ठुला मान्यजनको हातबाट प्रसादको रुपमा टिका ग्रहण गर्न आउने परम्पराले गम्भिर महत्व राखेको छ । उक्त दिन भेला हुने परम्पराले कम्तिमा तीन पुस्तासम्मका नातागोतासँग सान्निध्य गर्न पाउने अवसर प्राप्त हुन्छ ।

यसले मानव नश्लमा निकट रक्त सम्बन्धबाट उत्पन्न हुने समस्याको निराकरणमा मद्दत गर्दछ वा भनौं हाडनातमा हुनसक्ने यौनिक सम्बन्धलाई केही हदसम्म घटाउन सहयोग गर्दछ । यस दिनमा मान्यजनले रसलो र मिठो लयमा दिने आशिर्वाद पनि अझ गतिलो सम्पतिको रुपमा लिन सकिन्छ । खास गरी शास्त्रीय छन्दमा कुनै कालखण्डमा निर्माण गरिएको श्लोकले मानव जगतका समग्रतालाई समेटेको छ । यिनै श्लोकको आधारमा आशिर्वादको रुपमा व्यावहारिक परामर्श दिइन्छ । यसका केही कुरामात्र मनन गरी व्यवहारमा उतार्न सकियो भने हाम्रो समाज र हामी साँच्चै रामराज्यका बसिन्दा हुनसक्छौं तर यी कुरालाई आधुनिकताको कृत्रिम आवरणले निस्तेज बनाईएको छ । सभ्य बनिने काइदामा अन्धविश्वासको श्रीपेच ओढाएका छौं संस्कारलाई ।

सँधै सजग, सचेत, सहासी, ज्ञानी, ध्यानी, कर्तव्यनिष्ठ, अजातशत्रु, दीर्घायु हुन दिइने आशिर्वादमा तीन युगका महान व्यक्तिको व्यक्तित्वलाई दृष्टान्तको रुपमा वाचन गरिन्छ । आयुद्रोणसुते, श्रेयस्चदशरथ,े शत्रुक्षयराघवे।। ऐश्वर्यनहुषे, गतिश्चःपवने, मानश्चः दुर्योधने।। दानंसूर्यसुते, हलंबलधरे, सत्यं च कुन्तिसुते।। विद्वान विदुर भवति भवते कृतिश्चः नारायणः।। एक मानवले प्राप्त गर्नुपर्ने महत्ताहरु यिनै चारओटा हरफमा समेटिएका छन् । आयु, सुखद कृति, शत्रुनाशक, अधिपत्य वा प्रभुत्ववान, वेगवान, मानसम्मानप प्राप्ती, दानी, सत्यवान, विद्वान र कृतिवान हुन सुझाइन्छ । समष्टिमा थोरै भएपनि गहिरिएर हेर्दा यहाँ जीवन जगतलाई समेटिएको छ भने दैविक, सामजिक र व्यवहारिक जीवनका समग्रालाई इङ्गित गरिएको छ । यीमध्ये कुनै गुणको विकास र अनुशरण गर्न सकेको खण्डमा मानिस मानवता भन्दा माथि उठेको हुन्छ अनि कसैका आमाबाबुले मन्दिरमा बसेर भिख माग्न वा वृद्धा आश्रममा बसेर सन्तानको खिलाफ गर्ने मौका आउँदैन । तडकभडक र आयातित संस्कार विपरित दशैं पर्वलाई जिवन्त र मौलिकतामा ढालेर व्यावहारिक रुपमा मनाउन सके वृद्धवृद्धामाथि भएको अपमान स्वतः समाप्त हुने तथ्य नकार्न सकिदैन । । यसर्थ दशैंको मौलिक पाटो केलाउन आवश्यक छ ।

अझ मार्मिक र तथ्यपरक आधार यस पर्वमा जोडिएको छ, स्वस्थ, पौष्टिक आहार र खुशीको क्षण । यी दुबै मानव स्वास्थ्यसँग जाडिएका छन् । हुनसक्छ त्यो समयमा स्वास्थको कुरा सबैमा थाह नभएको होला । स्वस्थ रहन खुशीपन चाहिन्छ भन्ने विषय खोज भइनसकेको होला तथापि आज विज्ञानको नजरमा पनि सत्य सावित हुने स्वाथ्यका कुरा दशैं पर्वसँग जोडिएको पाइन्छ । जति बेला मानव विकासको चरणमा थियो उसको जीवन अभावमा बाँचेको थियो । न्याय शक्तिको आडमा (आज पनि अवशेष छ) चलेको थियो । सँधैभरी मिठोचोखो खान पाउने अवस्था थिएन । रुखोसुखा खाएर कठिन श्रम गर्न विवश थिए मानिसहरु । पेटभर मिठोचोखो खान र आराम गर्न कुनै उत्सव वा पर्व नै पर्खनु पर्ने अवस्था थियो होला, अझ पनि छ । वर्ष दिनमा सबैले पौष्टिक खाना खान पाउन् आरा मगर्न र खुशियाली साटासाट गर्न पाउन् भनेर पनि यो पर्वको थालनी भएको हुनसक्छ किनभने आज पनि हुदाखाने र हुनेखानेको फरक जीवनशैली छ । हुनेखानेहरु भन्दा दशैंको चटारो हुदा खानेका लागि बढी छ । उसले लत्ता कपडादेखि मरमसलासम्मको जोहो गर्छ दशैंमा । हुदा हानेका भुराभुरी हुने खानेका भन्दा त्रढी खुशी देखिन्छन नाना, चिची खान पाइन्छ भनेर । जुन उत्सह र खुशी हुने खानेको परिवारमा देखिदैन कारण उसको भान्सा हरेक दिन गरिबको दशैंको भन्दा कम हुदैन । यसबाट पनि गरिब निमुखाहरुले पनि खोजीमेली मठिोमसिनो र सन्तुलित आहार खाऊन् र थारै भए पनि स्वस्थ रहून् भन्ने मान्यताले थालिएको अनुमान गर्न सकिन्छ ।

दशैंले समेटेको अर्को पक्ष खुशी वा आनन्द हो । सामन्तवाद र पुरातनवादी नेपाली समाजमा मानसिलाई विभिन्न सम्प्रदायले अनेक प्रथाको नाम दिएर अघोषि दास बनाएका थिए र अझै पनि त्यो प्रथा कायम छ । लोकतन्त्रको नाकमाथि बसेर गरिबको नाममा नक्कली तमसुक बनाउने श्याम प्रदेशी जस्ता द्रव्य पिशाचले त्यो बेला दास, करिया, हलिया, चरुवा (जुन प्रथा उदयपुरको कटारी न.पा क्षेत्रमा छ), कमलरी जस्ता मानव दासका अनेक रुपमा सताइएका मानिसले हरघडि मालिकको खप्कीमा बाँच्नपर्ने, खुशी, आनन्द, आराम र उमंग कहिल्यै नआउने अवस्थाबाट मुक्ति पाउन पनि दशैं पर्खन पर्दथ्यो । एक दुई दिन भए पनि मन खोलेर हाँस्न,आराम गर्न र रमाउन पाउने हँुदा मनभित्रको उकुसमुकुस शान्त भई मन हलुको हुन्थ्यो । केही समय भएपनि आराम गर्न र रमाउने अवसर मिल्थ्यो ।

यसबाहेक आधुनिक बन्न खोजेर शहरका छिडीमा छिपेर शहरिया देखिन चाहनेहरु पनि वृद्ध बाआमा भेट्न दशैं कुर्ने गरेका छौं । विवशताले विदेशिनेहरुले आघौंको दशैं जीवनको मैझारो नभए सँगै मनाउँला भनेर भाका राख्छौं । आमा बासँग मनमुटाव भएर पर बसेका छोराछोरीहरु प्नि मन नपरी भए पनि एक दिन निधारमा हात राखि माग्न बाआमाको कटेरोमा बथानै छिर्न कर लाग्छ । दाइजो नपुगेर च्याँठिएका ज्वाईं, अंश नमिलेर बटारिएका छोरा, बुहार्तले सताएकी बुहारी सबै सबैलाई दशैंले एकै थलोमा भेला गर्छ । यसरी मानिसको कुँढिएको मनमा धार लगाउने, टाढिएको तनलाई घिसारेर जोड्ने, दुःख भुलाउने, खुशी चुल्याउने पर्व दर्शंले मानसिक रुपमा मानिसलाई स्वस्फूर्त बनाउने हुँदा दशै महान पर्वमात्र होइन सम्बन्ध सूत्रको मनोविज्ञान हो ।

औकातका हिसाबले कस्ैका लागि दशा पनि बनेको छ दशैं । तर मनोवैज्ञानिक रुपमा मैले औकात अनुसार मनाउनु पर्छ भन्ने सोच सबैमा रहेको हुन्छ भने अति व्यस्त जीवनबाट फुर्सद निकाल्ने र आमाबाबु वा अग्रज भेट्न जाने मानसिक तयारी गरिन्छ । एक दिन भए पनि खाना र नानामा परिवर्तन गरी जीवनमा नयाँपनको आभाष प्राप्त हुन्छ । यसर्थ दशैं मनोविज्ञान, स्वास्थ्य विज्ञान र सम्बन्ध सूत्रको कडी हो । नरौसी नहौसी आफ्नो औकात र हैंसियतमा रहेर यस पर्वलाई जीवन्ता दिलाऔ । जय दुर्गे ।