मपारुङ अन्तरपालिका फुटबलमा शनिबार तीन खेल

कार्तिक २ शनिवार, २०७६
खोटाङ । खोटाङको साकेला गाउँपालिकामा आयोजित मपारुङ अन्तरपालिका फुटबल प्रतियोगीतामा शनिबार तीन खेल भएका छन् । साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका (ए) र साकेला गाउँपालिका (बी) ले विजयी यात्रा तय गरेका छन् ।

पहिलो खेलमा भोजपुरको हतुवागढी गाउँपालिकालाई ८ का विरुद्ध ९ गोल गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका विजयी भएको हो । निर्धारित समय ३÷३ गोलमा सकिएपछि भएको पेनाल्टी शुटआउटमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हतुवागढी गाउँपालिकालाई पछि पारेको हो । यस्तै, साकेला गाउँपालिका (ए) लाई शुन्यका बिरुद्ध ५ गोल गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिका (ए) विजयी भएको हो । आयोजक साकेला गाउँपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै साकेला गाउँपालिका (बी) विजयी भएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए ।

साकेला गाउँपालिकाले आयोजना गरेको १ लाख ९५ हजार राशीको अन्तरपालिका स्तरिय फुटबल प्रतियोगीताको शुक्रबार भएको उद्घाटन खेलमा हलेसी तुवाचुङ नगरपालिकालाई ० का बिरुद्ध ११ गोल गर्दै खोटेहाङ गाउँपालिका (बी) ले विजयी भएको थियो । दशैं र तिहारको अवशरमा आयोजना गरिएको फुटबल प्रतियोगीतामा खोटाङ र भोजपुरका १० स्थानीय तहको सहभागीता रहेको छ ।

सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुहले क्रमशः १ लाख, ६० हजार र ३५ हजारका साथमा कप प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट मार्चपास र अनुशासित टिमलाई पनि पुरस्कार र ट्रफी प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।