सिसिफसको नियतिमा तड्पिएका नेपाली

कृष्णबहादुर बुढाथोकी

इतिहासदेखि वर्तमानसम्मको नेपाली समाजले चाहेको परिवर्तन र स्थापित शासन व्यवस्थालाई नियाल्दा अल्वर्ट कामुको चर्चित पात्र सिसिफसको नियतिभन्दा फरक देखिएन । हुनसक्छ सिसिफस अभिशप्त थिए तर नेपाली जनता सार्वभौम छन् फरक यति नै हो । फ्रन्सेली लेखक अल्वर्ट कामुको सिसिफसको कथाको पात्र सिसिफसले गरेको प्रयास र नेपाली जनताले परिवर्तनका लागि गरेका प्रयास समान छन् ।

अल्वर्टको कथामा स्वर्गको नियम पालना नगर्ने सिसिफस अभिशप्त भई सजाय भोग्न मत्र्यमण्डलमा आउँछ । उसले सजाय स्वरुप एउटा बडेमाको पथ्थर (ढुङ्गो) पहाडको उकालोमा जोडतोडले धकेल्दै, उचाल्दै शिखरसम्म पु¥याउँनुपर्छ । उ श्राप मोचन खातिर निरन्तर सारहीन शिला घँचेटीरहन्छ । अलिकति थकाइ मारौं भन्यो ढुङ्गो गुडेर फेदीमा झर्छ । पुनः भोक, प्यास, निद्रा, थकान, जाडो, गर्मी नभनी ढुङ्गो पहाड चढाइरहन्छ । विचरा सिसिफस त्यही निरर्थक काम निरन्तर गरिरहन्छ । उसलाई थाह थियो, उसका अगाडि केवल दुई विकल्प थिए, कि मृत्यु वरण कि आजीवन निस्सार वा निरर्थक काम, ढुङ्गो पहाडको चुचुरोमा पु¥याउने । मृत्यु रोजे जीवन समाप्त हुने भयले जीवन रोज्छ र मर्नुभन्दा जीवनभर निरर्थक काम गरेर बाँच्न चाहन्छ । मृत्युलाई तिरस्कार गर्छ । निरर्थक वा उपलब्धीहीन काम गर्दैछु भन्ने थाह भए पनि बाँच्नका लागि त्यही निरर्थक काम गर्न विवश हुन्छ । यही विवशता आज नेपाली जनतामा देखिएको छ ।

सिसिफसले जस्तै हामी नेपालीले सुशासनको अपेक्षा राखेर जति संघर्ष गरेका छौं ती सबै व्यर्थ र निरर्थक भएका छन् तापनि हामी बाँच्न चाहन्छौं, मृत्युलाई तिरस्कार गर्छाैं । हामीले जसरी बाँच्ने लालसाले निस्सार र निरर्थक जीवन बाँचेका छौं, त्यसलाई अर्को पुस्तामा पनि हस्तानतरण गर्दै गएका छौं र पछिल्लो पुस्ता त्यसरी नै ज्युनेछन् जसरी हामीले जिएका छौं । भोलिको आशमा हरेक नेपालीले सिसिफसले जस्तै निरर्थक काम गरिरहनु पर्नेछ । जसरी आज हामी गरिरहेका छौं । पराधिन, शोषण, उत्पडिन र दासता हस्तान्तरण र ग्रहण गर्ने, गरिने प्रक्रिया कायम नै छ, । त्यसलाई उन्नति मानेर आज पनि स्वीकार्यताको निरन्तरतामा लागेको पाइन्छ ।

समाज विकासको असली आधार भनेको चेतना हो । चिन्तन रगडिएर चेतना निस्कन्छ र चेतनाले विवेकको खोजी गर्छ । विवेकले सामाजिक उन्नति खोजी गर्छ । आत्मा र परमात्माको पहिचान गरी समताको सत्पथ समातेर मानव विकासका लागि कर्तव्यको मार्ग बनाउँछ । चिन्तनविना चेतनाले साकार रुप पाउँदैन भने चिन्तन पनि सकारात्मक हुनुपर्छ । व्यासको चिन्तनले वेद जन्मियो, माक्र्सको चिन्तनले साम्यवाद जन्मियो, बुद्धको चिन्तनले विश्व शान्ति जन्मियो, माओको चिन्तनबाट आधुनिक चीन जन्मियो जुन चिन्तनले विश्वमा मानव कल्याण र उद्धारको काम गरे तर हिटलर र मुसोलिनीको चिन्तनले संसार ध्वस्त बनायो तसर्थ चिन्तन चेतनाको जग हो, जहाँबाट सभ्यताको थालनी पनि हुन्छ र समाप्तिको उद्घाटन पनि हुन्छ ।

नेपाल बुद्ध, भृकुटी, अरनी र भक्ति थापाहरु जन्मिएको देश, तपोभूमि र वीर गोर्खालीको देश भनेर इतिहासले बखान गरे तापनि त्यसको विरासत अधोगतमिा लागेको छ । विरासत जोगाउन जनता हरदम लागेका छन् । खबरदारी गरेका छन्् तथापि मियो गतिलो नपाउँदा शताब्दीयौंदेखि सिसिफसले झैं राष्ट्रियता र सार्वभौमिकताको पहाडमा स्वतन्त्रता र सुशासनको पथर घँचेटिरहेका छन् । एक युगमा पथर शिखरमा पु¥याएर शान्तिको सास फेर्न नपाउँदै पथर पहाडको खोंचमा झर्छ । फेरी जीवन मरणको बाजी थापेर शिखरमा पु¥यायो फेरी तल झरेकै हुन्छ । यो क्रम नित्य निरन्तर विक्रम संवत १८०१ देखि आजसम्म अविरल गतिमा गतिवान छ । अन्त्यहिन निरनतरता, निर्विकल्प र निरर्थक प्रयास पनि जारी छ ।

पृथ्वीनारायणको अगुवाईमा तासका पत्तीजस्ता चोइटालाई गोर्खाली कारिगढले गालेर नेपाल नामक विशाल पथर निर्माण गरे । पछिल्लो समयमा समुद्र पारका फिरङ्गीले धावा बोल्दा वयोबृद्ध भक्ति थापाहरुले प्राण उत्सर्ग गरे पनि शासकको दास मानसिकताले मेची, काली यताउताको चोसो चुडियो,कुँडियो,खुडियो र बाँकी रह्यो विचको चोइटो, जुन चोइटो समय सालमा हामी घँचेटिरहेछौं । घचेट्ने क्रममा अलौ, मकै, पुस्तकालय, कोत र भण्डारखाल आदि नामका पर्व आए, गए, परिवर्तनको पथर धकेल्ने कोशिस गर्दा । लखन थापाले खोलेको सहिदको खातामा शुक्रराज हुदै गंगलाले जमानत थपे । त्यो नित्य निरन्तरताको वेगमा वर्षाका बुँद समान धेरै नेपाली सिसिफसहरुले कहिले प्रजातन्त्रको नाममा त कहिले लोकतन्त्र र गणतन्त्रको नाममा क्रान्ति, जनयुद्ध, जनविद्रोह, जनआन्दोलन, मधेस आन्दोलन नामका शाब्दिक खेतीमा खेतालाको काम गरे । झार्लङ्गी, निरुद्देश्य र निरर्थक लगानीमा आहुति भए र ज्ञात अज्ञात वा गनी, भनी साध्य नभएका वीर योद्धाको सम्मान पाए । यिनले उरालेको रक्तिम भेलले थुपारेको मलिलो मैदानमा कसैले कपटी पासाका थर्की थापेर झण्डी, मुण्डा, छक्का र सत्ता दाउमा ठुलो बाजी गरिरहेका छन् । कोही पानी घाटमा धर्जन थापेर निरिह जीवको सिकारमा व्यस्त छन् भने कोही विविध कीटपतङ्ग र वनस्पतिको अवशेष मिश्रित मलिलो माटोमा प्रपञ्चको खेतीमा तल्लिन छन । तर स्वर्गका मालिकको आँखामा अभिशाप बनेका सिसिफसहरु शिला सोझ्याउन र पराजित नजरले पोल्टामा खाजा नहुने मालिकका ठुला ठुला फाँको नियाल्न विवश छन् ।

नेपाल अंग्रेज, नेपाल भोट युद्धले चपाएका अनुहार र उनीहरुको सपना खरानीको डल्लोमा परिणत भयो । जसले सार्वभौमिकताका निमित्त आफुलाई समर्पण गरे तर आज देश अघोषित उपनिवेशको बाटोमा बामे सर्नथालेको छ । शुक्रराजहरुको अदम्य साहस र त्रिभुवनहरुको त्यागमा देश र जनताको मुक्ति देखेर सात सालमा शिखर चढेको शिला आपसी स्वार्थ र खिचातानीले सत्र सालको पराकम्पमा गुल्टियो र उही स्थानमा लमपसार भयो ।

अभिशप्त सिसिफसहरुलाई अठार सालबाट धकेल्न उक्साइयो । तीस सालमा चिलगाडी चोर्न दुर्गाहरुलाई चुनौतिको सागरमा हेलियो । सिंहदरबार सल्काएर सिंह तर्साइयो । छत्तीस सालमा बटुक बौराइयो, दीक्षक कुदाइयो । यी सिसिफसहरुले यावत् त्याग गरी शिला सारिरहे, सैंतीस सालमा गुल्टियो । चुचुरोमा नपुगे पनि धकेली रहेको शिला छयालीस सालमा शिखर नजिक पुग्यो त्यसपछिको प्रयासले चुचुरो चुम्यो अनि मालिकको विमती र दम्भको दलदलबाट माथि उकास्ने र सिसिफसलाई उन्मुक्ति दिने नवीनतम लालच देखाएर स्वर्गको महलबाट मालिकको बहिर्गमन भयो । हामी सिसिफसहरुले सोचेका थियौं अब दुःखका दिन गए, अभिशप्त रहेनौं । स्वर्गको दरबारमा आनन्दसाथ हुक्के, ढोके, छाते, बैठके, भान्से, हजुरिया, नानी, सुसारे भएर ईश्वरीय सामिप्यतामा बसियो भनेर । अझ ढुक्क भयौं अब खोंचबाट पथर ठेल्न परेन भनेर । लगभग दुई शताब्दीसम्म अनेक गल्छी, खोंच र घुम्ती पथर धकेल्ने कति त श्रापित अवस्थामै विलय भए, जसले कडि खोंच र गल्छीबाट शिला निकाल्ने कामको थालनी गरे उनीहरु अर्थहीन र निकम्मा सावित भए र अतितका अँध्यारोमा थुनिएका छन् तर चुलीमा चढीसकेको शिला नछुनेहरु पराक्रमी सावित हुनथालेका छन् ।

जीवन शुन्यबाट आयो, शुन्यतामा हराउँछ । जसोतसो बाँच्न पर्छ भनेर दुःखबाट मुक्ति पाउन निरर्थक भनी जानेर श्रम गर्ने सिसिफसका पर्याय नेपाली जनताको दुःख मोचन भएन । झन झन कसिलो र पेचिलो बनेर चुनौतीको पहाड अगाडि आएको छ । विगतमा रजौटाका विरुद्ध लडाई गर्ने पुर्खाका सन्तानले निरङ्कुशताका विरुद्ध लड्नुपÞ¥यो । तिनका सन्तानले गणतन्त्रका लागि जीवन दिनुप¥यो तापनि आनन्दसँग बाँच्न पाउने अवस्था सिर्जना भएन । जिउँदै मान्छे जलाउने, कपटी कागज गरेर गरिबको घरबास उखाड गर्ने, नारी अस्मिता लुट्ने मानव बेचबिखन गर्ने, जनतामाथि कर थुपारेर मस्ति गर्ने, कानुनलाई गोजीको काँचोपात निमोडेर अम्मलीले तमाखु बनाए जस्तो मनखुशीले उपयोग गर्ने, सत्ता र पहुँचको भरमा काखापाखा गर्ने परिपाटी मौलाएर अभिशप्त सिसिफस जस्ता नागरिक झनै त्रासमा बाँच्नु परेको छ ।

अझ पनि निमुखाले बोल्न नपाउने, न्याय ठालुको पेवा हुने, भीडको आडमा सत्य निरिह बनाउने, स्वेच्छचारिता, र दण्डहीनता कायम रहँदासम्म आम नागरिक कामुको सिसिफस भन्दा भिन्न हुनेछैनन् । एकपछि अर्को पथर घचेटिरहन विवश हुनेछन् । नेपाली नागरिकले त्यसबेला मात्र शान्तिको उच्छवास लिन सक्छन् कि देशबाट ठालु प्रवृत्ति सकिनुपर्छ । नोकर र मालिक वा शासक र शासितको परम्परा बदलिनुपर्छ । आजसम्म घँचेटेको पथरले परिवर्तन त ल्यायो तर सिसिफलाई श्रापबाट मुक्ति दिनसकेन । यानेकि जनताको जीवनस्रमा परिवर्तन आउन सकेन । आयो त केवल सिसिफसलाई श्रापित बनाएर मत्र्यलोक धकेल्ने स्वर्गका मालिकाका सन्तानका लागि मात्र । आयो भने खै ? पानी छोएको निहुमा दलित किन कुटिनु ? कमजोर र सहनशिल भएकै कारण नारी किन लुटिनु,बेचिनु ? साहुबाट निमुखा आसामी किन ठगिनु ? दास युगमा जस्तै मनिसले ज्युदै जल्न पर्ने, न्याय माग्दा गोली खान पर्ने अवस्था बदलिनुपर्छ ।

विडम्बना लाखौं सिसिफसको निरन्तरको प्रयास निरर्थक र शुन्य प्रायः बनेको छ जसका लागि भनेर संघर्ष भयो प्रतिफल अर्कैले हात पारेको छ । दुर्भाग्य, शासक फेरिए, शासन फेरिएन । अनुहार फेरिए प्रवृत्ति फेरिएन । राजनीति गरियो, निष्ठाको राजनीति गरिएन । कबुल गरियो इमान्दार भइएन । शरीर सजाइयो, मन पखालिएन । मतदानलाई मत किन् बनाइयो । मतलाई अमूल्य भनियो तर मूल्य तोकियो । व्यक्ति फेरियो संस्कार फेरिएन । अल्पसंख्यक भनियो बहुसंख्यकलाई ठालु बनाइयो । समानतको हौवा पिटेर समतालाई शूली चढाइयो । वर्गको रटानमा खिया लागेर जातमा ओर्लियो । यस परिदृष्यले सिसिफसले माथि चढाएको पथर विगतमा जस्तै खोंचमा ओइरिने त होईन भन्ने प्रश्न जन्मिएको छ । तसर्थ यो रीति, थिति र नीतिमा भुल सुधार नभएसम्म नेपाली जनताको नियति सिसिफसको भन्दा फरक नहोला । (लेखक बुढाथोकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का स्थानीय हुन् ।)