सीमा अतिक्रमण विरुद्ध सडकमा कविको गर्जन

कार्तिक २३ शनिवार, २०७६
खोटाङ । भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग समेत समेटेपछि अहिले नेपालमा विभिन्न समूहले आन्दोलन गरिरहेका छन् । सोहि सन्र्दभमा खोटाङमा शुक्रवार कविहरुले सडकमै कवितामार्फत भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।

कालापानी, लिपुलेख, लिम्पियाधुरा नेपालको हुँदाहुँदै नेपाली भूभागलाई आफ्नो नक्सामा राखेर भारतीय विस्तारवादले सुन्दर तथा शान्त नेपालमाथि धावा बोलेको भन्दै प्रगतिशील लेखक सङ्घ, टेम्के तुवाचुङ प्रतिष्ठान नेपाल, किराँत राई लेखक सङ्घ, साईनो कला केन्द्र र उन्मुक्त पुस्ता खोटाङले दिक्तेलस्थित त्रिवेणीचौकमा साहित्यिक सडक कविता आन्दोलन गरेका हुन् ।

आन्दोलनका क्रममा जिल्ला तथा जिल्ला बाहिरका दर्जन बढी कविले राष्ट्रवादी तथा भारतीय हस्तक्षेप बिरोधी कविता वाचन गरेका थिए । कवि चित्र सुवेदी, डिल्लीराम ‘नाकारा’, भोगेन राई ‘एक्ले, ओमप्रकाश घिमिरे, धनीराम राई, प्रमोद स्नेही श्रेष्ठ, रेखा राई ‘क्षितिज,’ विष्णु ढुङ्गेल, विनोद बस्नेत, सुशिला निनाम, मणी राई, नारायण भुजेल, घनश्याम ढकाल र विष्णु उपरकोटी लगायतले कविता वाचन गरेका थिए ।


उनीहरुले कविता मार्फत नेपालको सिमानामा भएको बलमिच्याईको निन्दा गर्दै सरकारलाई खरबदारी समेत गरे । आवश्यक परेको खण्डमा खुकुरी बोकेर फेरिपनि कालापानी, नालापानी, लिपुलेकमा गएर लडन तयार रहेको भाव समेत रचनाहरुमा रहेको थियो । कार्यक्रममा गायक तथा सँगीतकार भक्त विश्वकर्माले राष्ट्रभक्ति गीत प्रस्तुत गरेका थिए ।

करीब दुई घण्टा चलेको कार्यक्रममा सहभागी साहित्यकारहरुले ‘भारतीय हस्तक्षेप बन्द गर, विस्तारवाद मूर्दावाद, व्याक अफ इन्डिया, असमान सन्धी खारेज गर, मिचिएका भू–भाग फिर्ता गर’ जस्ता प्लेकार्ड बोकेका थिए ।
भारतीय हस्तक्षेपको बिरोधमा सडकमै साहित्यिक कार्यक्रम गरेका साहित्यकारहरुलाई स्थानीय जनताले समेत साथ दिएका थिए ।