हलेसीमा लागेको ताला खुलेन

प्रकाशित मिति :  भदौ ३१ आइतवार, २०७५

खोटाङ । खोटाङको त्रिधार्मिकस्थल महादेबस्थानको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला ६ दिन बित्दा समेत खुल्न सकेको छैन । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद हुँदा कार्यालयमा ताला लागेको ताला अझै खुल्न सकेको छैन । नगरपालिकाले सिफारिस गरेको समितिका अध्यक्ष हर्कराज राई लगायतले हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा भदौ २६ गते ताला लगाएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य डिल्ली चाम्लिङले बताए ।

 

नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुबै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज भएपनि अन्य पदाधिकारी र सदस्य हेरफेरले समस्या निम्तिएको हो । हर्कराज लगायतका ५ जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिका तर्फबाट भदौ २४ गते कार्यभार सम्हालेको दोश्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि कांग्रेस समर्थक समुहबाट ताला लगाइएको हो ।

 

कांग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिस गरेको व्यवस्थापन समितिलाई मान्यता दिनुपर्ने पक्षमा र नेकपा निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि विवाद चुलिएको हो । साँस्कृतिक सम्पदाको विकासका नाममा गठन गरिएको समितिका पदाधिकारी पार्टीगत रुपमा विभाजित भएपछि मन्दिर व्यवस्थापन समितिको काम कार्य नै अन्यौलमा परेको छ ।