अवकाश प्राप्त जीवन अशक्तलाई लठ्ठी वितरण गरेर विताउँदै आचार्य
कार्तिक २४ आइतवार, २०७६
खोटाङ । एउटा अवकाश प्राप्त सरकारी कर्मचारीको दैनिकी कसरी बित्ला ? यसको जवाफ व्यक्तीपिच्छे फरक–फरक आउन सक्छ । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्यको रिटायर्ड लाईफ भने ज्येष्ठ नागरिक र अशक्तलाई घुंगारुको आकर्षक लठ्ठी वितरण गर्दै वितिरहेको छ ।
२०७४ साल जेठ १९ गते नासुबाट अवकाश प्राप्त गरेका ६३ वर्षीय आचार्य घरैमा घुंगारुको आकर्षक लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका बृद्धबृद्धालाई वितरण गर्दैआएका छन् । एक हजार आठ वटा लठ्ठी निर्माण गरेर त्यती नै संख्याका वृद्धबृद्धालाई प्रदान गर्ने लक्ष्यकासाथ आचार्यले एकल अभियान चलाइरहेको बताए । उनले एक वर्षभित्र एक हजार आठ जना ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गर्ने लक्ष्यकासाथ गत बैसाख १ गतेबाट एकल अभियान सुरु गरेका हुन् ।
सुरुमा एक सय आठ जना बृद्धबृद्धालाई एक–एक थान लठ्ठी प्रदान गर्नेगरी अभियान थालेका आचार्यले बीचमा एक हजार आठ जनालाई लठ्ठी प्रदान गर्ने निर्णय लिएका हुन् । हालसम्म ४५० जना ज्येष्ठ नागरिकलाई लठ्ठी प्रदान गरिसकिएको आचार्यले बताए । हरेक वृद्धवृद्धाका लागि एउटा लठ्ठी परिवारका सदस्यजस्तै साहरा हुने भएकाले उनले ‘एक वृद्धवृद्धा एक लठ्ठी’ उपलव्ध गराउने अभियान थालेका हुन् । ‘जुनसुकै वृद्धवृद्धा र अशक्तका लागि परिवारका सदस्यजस्तै पहिलो र नजिकको साथी भनेको लठ्ठी हो,’ आचार्यले भने, ‘उनीहरु चौबिसै घण्टा आफ्नो छोरा छोरी, बुहारी, नाती नातिनी साथमा हुँदैनन् । त्यो अवस्थामा बुढेस कालको साहरा भनेको लठ्ठी नै हो ।’
धार्मिक ग्रन्थमा एक सय आठ र एक हजार आठ दान गर्नुको विशेष अर्थ र महत्व छ । सोही धार्मिक मान्यता अनुशार आचार्यले लठ्ठी दानको काम सुरु गरेका हुन् । हालसम्म आचार्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, लफ्याङ, खाल्ले, दोर्पाचिउरीडाँडा, नुनथला, केपीलासगढी गाउपालिकाको बाक्सिला, साकेला गाउँपालिकाको रतन्छा लगायत तराईमा बसोबास गरिहेका केही बृद्धबृद्धालाई लठ्ठी प्रदान गरिसकेका छन् । नजिकका गाउँका बृद्धृबद्धालाई आफै गएर लठ्ठी दिने गरेका आचार्यले टाढाका बृद्धबृद्धालाई आफन्तमार्फत लठ्ठी पठाइदिने गरेका छन् । उनले छरछिमेकमा रहेका ज्येष्ठ नागरिकदेखि रतन्छाका १०८ वर्षका नन्दलाल फुयाँलसम्मलाई लठ्ठी पु¥याइसकेका छन् । खबर आए र पु¥याइदिने माध्यम भए सय वर्ष नाघेका पुर्वपश्चिम जुनसुकै ठाउँका वृद्धवृद्धालाई लठ्ठी उपहार पठाइदिने लक्ष्य राखेको आचार्यले बताए । उनले औशत एक हजार बजार मूल्या पर्ने लठ्ठी निर्माण गरेर वृद्धवृद्धालाई प्रदान गर्दैआएका छन् ।
२०३७ साल कात्तिक १५ गते बहुमुखी बिकास कार्यकर्ता तथा गाउँ पञ्चायत सचिव (खरिददार) कारुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । सेवा प्रवेशकाक्रममा गौरादहमा ७ महिना काम गरेपछि उनी खोटाङको बुईपामा सचिवकारुपमा आफ्नै जिल्ला आएका थिए । जागीरका सिलसिलामा ताप्लेजुङमा २०४२ सालदेखि २०४७ सालसम्म काम गरेका आचार्य प्रजातन्त्रको पुःनर्वहालीपछि पुःन खोटाङ फर्किएका थिए ।
लठ्ठी उपहार प्रदान अभियान चलाइरहेका आचार्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको सिरुबासबाट घुंगारीको काँचो हाँगो झिकाउने गरेका छन् । एक पटकमा १४÷१५ वटा हाँगो ल्याइदिने स्थानीयलाई उनले प्रतिपटक एक हजार दुई सय पारिश्रमिक उपलव्ध गराउने गरेका छन् । एउटा लठ्ठी तयार पार्न हाँगाको साईज र बुट्टा अनुशार एक दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उनको अनुभव छ । उनको दिनचर्य आकर्षक लठ्ठी ताछ्न, खौरिन, थरिथरिका आकर्षक स्वरुप दिनमै वितिरहेको हुन्छ । ‘पहिल्यैदेखि लठ्ठी बनाउने अलिअलि सीप थियो,’ आचार्यले भने, ‘सीपलाई सदुपयोग गरेर अशक्तलाई प्रदान गर्दा मानवीय सेवा र धर्म पनि हुन्छ भनेर काम थालेका हुँ ।’
आचार्यले समाउने ठाउँमा चरा, माछा, फूलको कोपीला, बाच्छा लगायतको आकृति भएको लठ्ठी बनाउने गरेका छन् । उनले रेती, ह्याक्सो व्लेड, कर्द, खुकुरी, विभिन्न साईजका छिनो लगायतका घरेलु हतियार प्रयोग गरेर आकर्षक लठ्ठी निर्माण गर्ने गरेका छन् । लठ्ठीको डाँठमा निर्माण गर्ने र पाउनेको नाम, ठेगाना र लठ्ठी नम्बर लेखिन्छ । त्यही लठ्ठीमा ‘बुढेस कालको साहरा अभिन्न मित्रकोरुपमा टेक्नु हुनेछ’ उल्लेख गर्ने गरेका छन् । उनले कतिपय बुट्टा र अक्षर छिनाले खोपेर लेख्ने गरेका छन् । समय थोर लाग्ने भएकाले अधिकांश लठ्ठीमा टचउड पोलिस गरेर पर्मानेन्ट मार्करले लेख्ने र पुःन टचउड पोलिस गर्ने गरेका छन् । यही कामले उनको अवकाश प्राप्त जीवन विताउन आनन्द भइरहेको छ ।
घरायसी काम, साथीभाईसँग भेटघाट बाहेकका अधिकांश समय उनी लठ्ठी खिप्नमै व्यास्त भेटिन्छन् । कुनै दिन निद्रा नलागे बिहान ३ बजे उठेर लठ्ठी ताछ्ने गरेको उनले बताए । उनले घुंगारुकै लठ्ठीबाट बीड सहितको पञ्जा आकारको पिठ्यूँ कन्याउने ५० थान साधन पनि तयार पारेर वितरण गरिसकेका छन् ।
आचार्यसँग बाँसको चोयाबाट ढाकाको जस्तो टोपी, ह्याट र कोट बुन्ने सीप पनि छ । ढाकाको जस्तो ६ वटा टोपी बुनेकामा सबै बिक्री भएको र त्यसमध्ये एउटा चार हजार पाँच सयमा बिक्री भएको थियो । अर्डर भए लठ्ठी, पिठ्यूँ कन्याउने पञ्जा, चोयाको टोपी तयार पारेर उपलव्ध गराउने आचार्य बताउँछन् । उनले कोसेलीकारुपमा पनि लठ्ठी लैजाने गरेका छन् । यसपल्ट तराईबाट केही लठ्ठीको अर्डर आएको बताए ।
उनी रक्तचन्दनको बिरुवा समेत घरैमा उमारेर संघसंस्था तथा कार्यालयलाई बितरण गर्दैआएका छन् । श्रीमती, छोराबुहारीसँग मिलेर तीन वटा पोखरीमा ग्रास कार्प, मुंग्री लगायतका प्रजातीका माछा पालन गरेका छन् । रुद्राक्षको गोडमेल, हेरचाह लगायतका काममा पनि उनको अवकाश प्राप्त समय खर्च भइरहेको छ । उनको बगानमा केही बोट रुद्राक्ष लटरम्म फल्न थालेको छ । आचार्यका पाँच छोरा र एक छोरीमध्ये जेठो छोरो होमकाजी आचार्य नेकपाको जिल्ला कमिटि सदस्य छन् । माईलो डिल्लीप्रसाद आचार्य कानून अधिकृत छन् ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



